काठमाण्डु – नेकपा एमालेले ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ क्षितिज थेबेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
एमालेनिकट राष्ट्रिय युवासंघका अध्यक्ष समेत रहेका थेबेलाई उम्मेदवार बनाउने निर्णय पार्टीले गरेको छ । शनिबार बसेको सचिवालय बैठकले ताप्लेजुङको निर्वाचन क्षेत्रको उम्मेदवार टुंगो लगाउने जिम्मेवारी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको थियो । सोही निर्णयअनुसार अध्यक्ष ओलीले थेबेलाई उम्मेदवार चयन गरेका छन् ।
यसअघि ताप्लेजुङ निर्वाचन क्षेत्रबाट एमाले उपमहासचिव योगेश भट्टराई निर्वाचित भएका थिए । यसपटक भने पार्टीले युवा नेतृत्वलाई अघि सार्दै थेबेलाई उम्मेदवार बनाएको छ । एमालेले गरेको निर्णयले पार्टीभित्र युवालाई प्राथमिकता दिने नीति अझ स्पष्ट भएको नेताहरू बताउँछन् ।
थेबेलाई पार्टी र जनसंगठनमा जुझारु तथा वैचारिक रूपमा सक्षम नेताका रूपमा लिइन्छ । पार्टी र नेतृत्वमाथि चौतर्फी आक्रमण भइरहेका बेला उनी दृढताका साथ अगाडि उभिएका नेताहरूको भनाइ छ । यस्ता कठिन समयमा देखाएको प्रतिबद्धता, सक्रियता र संगठनप्रतिको निष्ठालाई मूल्यांकन गर्दै पार्टीले उनलाई उम्मेदवार बनाएको एमालेको बुझाइ छ ।
थेबेको उम्मेदवारीमार्फत एमालेले युवाको भावना, योगदान र जुझारुपनप्रति सम्मान व्यक्त गरेको सन्देश गएको पार्टीका नेताहरूले बताएका छन् ।




प्रतिक्रिया