उम्मेदवारको टुङ्गो सहमतिमा गर्न देउवा तयार

उम्मेदवारको टुङ्गो सहमतिमा गर्न देउवा तयार


काठमाण्डु – नेपाली कांग्रेसको संसदीय बोर्डले प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष तर्फको उम्मेदवारको टुगो लगाउँदैछ ।

उम्मेदवार टुंग्याउन नेपाली कांग्रेसको संसदीय बोर्डको बैठक बस्दैछ । पार्टीको उम्मेदवार तय गर्न बैठक बस्न लागेको हो ।

सभापति गगनकुमार थापाले पनि सोमबार रातिसम्म भएपनि उम्मेदवार छनोटको प्रक्रिया टुङ्ग्याइने बताएका छन् ।

सोमबार बिहान फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै सभापति थापाले पार्टीको आधिकारिक उम्मेदवार टुंगो लगाउने बताएका हुन् ।

विशेष महाधिवेशनबाट पार्टी विभाजित भएपछि कांग्रेसले प्रत्यक्ष तर्फको उम्मेदवार छनोट गर्न सकेको छैन । सभापति थापाले सबैलाई मिलाएर उम्मेदवारको टिकट वितरण गर्ने जनाएका छन् ।

पार्टी विभाजन अघि समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा पठाइ सकिएको छ । बन्द सूचीमा तत्कालीन सभापति शेरबहादुर देउवाको हस्ताक्षर थियो ।

तर विभाजनपछि देउवा र थापा पक्षमध्ये कसैले पनि प्रत्यक्ष तर्फको उम्मेदवार छनोट गर्न सकेको छैन । प्रत्यक्षमा उम्मेदवारी दर्ताको मिति मंगलबार रहेको छ, जसका कारण कांग्रेसलाई उम्मेदवार छनोट गर्न सकस परेको छ ।

यसबीच थापा समूहले छनोट गर्ने उम्मेदवारको सूचीमा देउवा पक्ष सहमति गर्न तयार भएको छ । विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूसँग देउवा पक्षका नेताहरू बालकृष्ण खाण र रमेश लेखक तथा शेखर कोइराला पक्षबाट मिनेन्द्र रिजालले विवाद समाधानका लागि पहल गरेका छन् ।

निर्वाचनमा सहमतिका साथ अघि बढ्न थापा, देउवा र कोइराला पक्ष तयार भएपछि सहमतिमै उम्मेदवारको सूची बनाइने नेताहरू बताउँछन् ।

नेताहरूका अनुसार उम्मेदवार छनोटमा लगभग सहमति नजिक पुगेको छ । ‘मंगलबार मनोनयन रहेकाले सोमबार रातिसम्म एक खालको समझदारी गरेर टिकट वितरण गरिनेछ’, ती नेताले भने । यसबाट पार्टी एकताको सन्देश प्रवाह हुने उनको विश्वास छ । ती नेताका अनुसार देउवा पनि एकतावद्ध भएर पार्टीलाई निर्वाचनमा लैजान तयार भएका हुन् ।