काठमाण्डु – समावेशी समाजवाद पार्टीले देशभर यौनिक तथा लैङ्गिक अल्पसंख्यकसहित पछाडि परिएका समुदायबाट उम्मेदवारहरू घोषणा गरेको छ ।
सोमबार काठमाण्डुमा पत्रकार सम्मेलन गर्दै पार्टीले अधिकार सुनिश्चितताको लागि सबै राजनीतिक दलहरूलाई आफ्ना उम्मेदवारहरूलाई साथ दिन आग्रह समेत गरेको छ ।
पार्टीका संरक्षक सुनिल बाबु पन्तले देशभरका सम्पूर्ण पहिचान खुलाएका तथा नखुलाएका लाखौं यौनिक तथा लैङ्गिक अल्पसंख्य नागरिहरुले समानुपातिकमा भोट हाल्दा समावेशी समाजवादी पार्टीको चुनाव चिह्न ‘श्रीवत्स’मा भोट दिन आग्रह गरे ।
पहिलो संविधानसभा सदस्य समेत रहेका पन्तले लामो संघर्षपछि आफूहरू पार्टी खोलेर चुनाव लड्ने अवस्थामा पुगेको बताउँदै भने,‘यो चुनावको समानुपातिक मत परिणामले हाम्रो अनौपचारिक जनगणना हुने र त्यसले हाम्रो राजनीतिक उपस्थितिलाई थप बलियो बनाउनेछ ।’
पार्टी अध्यक्ष नुमा लिम्बु ‘चन्चला’ले आफू मोरङ क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष निर्वाचन लड्ने बताइन् । उनले आफूहरूका प्रतिस्पर्धी अरु कोही नभएकाले सबै पार्टीहरूलाई सहयोग गर्न अनुरोध गरिन् । एमाले, कांग्रेस, नेकपा, रास्वपा लगायतले आफूहरूको उम्मेदवारीलाई समर्थन गर्न अपिल गरिन् ।
रुपन्देही–२ बाट उम्मेदवार दिएका देवेन्द्र बहादुर खत्रीले आफूहरूको संघर्षबाट स्वतन्त्र रूपले समाजमा हिँड्ने अवस्था भए पनि पूर्ण अधिकारका लागि यो चुनावमा भाग लिएको बताए ।
नेपालमा पहिलो समलिङ्गी विवाह कानूनी रूपमा दर्ता गर्न सफल सुरेन्द्र पाण्डेले आफ्नो उम्मेदवारी परम्परागत तथा पितृसत्तात्मक सोच र व्यवहारविरुद्ध भएको बताए । पाण्डेले आफू काठमाण्डु क्षेत्र नम्बर १ बाट प्रत्यक्ष उम्मेदवारी दिएको र सबै दलहरूलाई सघाउन अपिल गरे ।
काभ्रे क्षेत्र नम्बर १ को प्रत्यक्ष उम्मेदवार विनोद लामा (कोनिका) ले पुरानाहरूले लैङ्गिक अल्पसंख्यकका मुद्दा बेवास्ता गरेका कारण आफूहरूले छुट्टै पार्टी बनाएर चुनाव लड्नुपरेको जनाइन् ।
काठमाण्डु क्षेत्र नम्बर १० बाट प्रत्यक्ष उम्मेदवारी दिएका पूर्णचन्द्र पौडेलले उत्पीडित तथा सीमान्तकृत समुदायको दबाईको आवजलाई बुलन्द गर्न आफूहरूको उपस्थिति अनिवार्य भएको बताए ।
पार्टीको समानुपातिक उम्मेदवार दृष्टिविहीन–समलिङ्गी महिला प्रतिक्षा चापागाईंले आफूहरू जस्तै व्यक्तिहरूलाई संसद्मा पुगेर आफ्ना अधिकार कानूनमा लिपिबद्ध गर्न समावेशी प्रतिनिधित्व अत्यावश्यक रहेको बताइन् ।
समावेशी समाजवादी पार्टीका महासचिव मनिन्द्र सिं दनुवारले सबै दलका नेताहरूसँग आफ्नो पार्टीका उम्मेदवारहरूलाई सर्वसम्मत विजयी गराउन अनुरोध गरे । दनुवारले समावेसी कलस्टर अनुसार १५ जना समानुपातिक उम्मेदवारहरू निर्वाचन आयोगमा दर्ता भएको र ६ जना प्रत्यक्षत निर्वाचन लड्ने जानकारी दिए ।
ओखलढुङ्गा क्षेत्रबाट प्रत्यक्षतर्फ चुनाव लड्न पिङ्की राईले चुनाव लड्ने जानकारी दिए ।




प्रतिक्रिया