ऋषि धमला रौतहट–४ बाट चुनाव लडने

ऋषि धमला रौतहट–४ बाट चुनाव लडने


काठमाण्डु– सञ्चारकर्मी ऋषि धमला आम जनता पार्टीबाट चुनाव लड्ने भएका छन्। उनी रौतहट–४ बाट चुनाव लड्न लागेका हुन् ।

उनकी पत्नी एजिला गौतमले सामाजिक सञ्जालमार्फत् धमलाले चुनाव लड्न लागेको जानकारी दिइन् ।

उनले लेखेकी छिन् ‘आज मनमा गर्व पनि छ र अलि भारीपन पनि। वर्षौंसम्म क्यामेराअगाडि उभिएर सत्यका लागि लड्नुभएका मेरो जीवनसाथी ऋषि धमला आज जीवनकै एउटा ठूलो र नयाँ निर्णयतर्फ अघि बढ्दै हुनुहुन्छ। पत्रकारिता उहाँको पहिचान थियो तर जनताप्रतिको जिम्मेवारी उहाँको वास्तविक धर्म हो। पत्रकारिता छोडेर राजनीतिमा होमिनु सहज पक्कै थिएन। यसबीचमा हामीले धेरै अनिँदा रातहरू काट्यौं र निकै सोचविचार गर्‍यौं। तर उहाँसँग भएको अनुभव, प्रखर बुद्धि र सत्यप्रतिको अडानले यो नयाँ यात्रामा पनि उहाँलाई सफल बनाउनेछ भन्नेमा म पूर्ण विश्वस्त छु,’ उनले भनेकी छन्।

उनले भनिन् ‘आज आम जनता पार्टीको तर्फबाट मोबाइल चिह्न लिई रौतहट क्षेत्र नं ४ मा उम्मेदवारी मनोनयनका लागि रौतहट जाँदै गर्दा म सधैंझैं उहाँको साथमा छु। यो साथ मात्र हात समाएर होइन, अटुट विश्वास र संकल्पका साथ हो। यो यात्रा पदका लागि मात्र नभई जनताको सेवाका लागि हो। यस्तो पवित्र यात्रामा उहाँको सहयात्री बन्न पाउनु नै मेरो सबैभन्दा ठूलो शक्ति हो।’

ऋषिपत्नी एलिजा त्यस पार्टीकी उपाध्यक्ष छिन्। उनी केही समयअघि पार्टी प्रवेश गरेकी थिइन्।