उपचारका क्रममा १८ वर्षीया युवतीको मृत्यु, घटनापछि नवलपुर क्षेत्र तनावग्रस्त

उपचारका क्रममा १८ वर्षीया युवतीको मृत्यु, घटनापछि नवलपुर क्षेत्र तनावग्रस्त


सर्लाही – सर्लाहीको नवलपुरमा रहेको मोहन आयुर्वेद औषधालयमा उपचारका क्रममा १ युवतीको मृत्यु भएको छ ।

पाइल्सको समस्याबाट पीडित १८ वर्षीया हंसु पासवान उपचारका लागि औषधालय पुगेकी थिइन् तर उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

लालबन्दी नगरपालिका–२ पुनर्वासकी स्थायी वासिन्दा हंसुको अवस्था सुरुमा सामान्य रहेको परिवारजनको भनाइ छ । तर औषधालयमा इन्जेक्सन लगाएपछि उनको स्वास्थ्य अचानक बिग्रिएको र केही समयमै अर्को इन्जेक्सन लगाइएपछि अवस्था झनै जटिल बन्दै गएर मृत्यु भएको पीडित पक्षले जनाएको छ ।

बिरामीको अवस्था गम्भीर बनेपछि उनलाई नवलपुरबाट हरिवनस्थित नमूना अस्पताल लैजाँदै गर्दा चिकित्सकले मृत घोषणा गरेका थिए । घटनापछि नवलपुर क्षेत्र केही समय तनावग्रस्त बनेको थियो ।

आक्रोशित स्थानीयले पूर्वपश्चिम राजमार्गमा चक्काजाम गरेका थिए भने अहिले अवस्था क्रमश: सामान्य बन्दै गएको र सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।

आयुर्वेद औषधालय अवैध रहेको बताइएको छ । प्रहरीले मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवातर्फ पठाएको छ । घटनासँग सम्बन्धित अनुसन्धानका लागि मोहन आयुर्वेद औषधालयका वैद्य रामविनय साहलाई प्रहरी नियन्त्रणमा लिइएको छ ।