एक दशकको प्रयासपछि नेपालले गर्‍यो साउदी अरबसँग श्रम सम्झौता

एक दशकको प्रयासपछि नेपालले गर्‍यो साउदी अरबसँग श्रम सम्झौता


काठमाण्डु– नेपाल र साउदी अरबबिच द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर भएको छ ।एक दशकभन्दा लामो समयदेखिको प्रयासपछि साउदीसँग श्रम समझदारी पत्रमा हस्ताक्षर गरिएको हो ।

सोमबार नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्र सिंह भण्डारी र साउदी अरब सरकारका तर्फबाट मानव संसाधन तथा सामाजिक विकास मन्त्री अहमद बिन सुलेमान अलराजीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यसहित साउदीको रियादमा श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर गरिएको हो ।

सम्झौतामा श्रमिकहरूको सेवा सुविधा, कामको अवस्था, सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, श्रम सम्झौता कार्यान्वयन, गुनासो व्यवस्थापन तथा श्रमिक अधिकार संरक्षणलगायत विषयलाई प्राथमिकताका साथ समेटिएको छ । दुवै देशका कानुन, अन्तर्राष्ट्रिय श्रम मापदण्ड र आपसी समझदारीको आधारमा श्रमिकको हित सुनिश्चित गर्ने व्यवस्था सम्झौतामा गरिएको छ ।

सो क्रममा श्रममन्त्री भण्डारीले यो सम्झौताले नेपाल र साउदी अरबबिचको श्रम सहकार्यलाई थप संस्थागत र मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् ।

नेपालले २०७० सालदेखि साउदीसँग श्रम सम्झौता गर्ने प्रयास गर्दै आएको थियो । सम्झौताका लागि पटक पटक सम्झौताको मस्यौदा समेत तयार पारिएको थियो ।