काठमाण्डु ––आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाहीमा तोकिएका मतदानस्थलमध्ये ९२ प्रतिशतभन्दा बढी संवेदनशील सूचीमा छन् ।
यही संवेदनशील क्षेत्रमा नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही–४बाट निर्वाचन लड्दैछन् । जहाँ उनका बलिया प्रतिद्वन्द्वपी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरेश कुमार सिंह छन् ।
कांग्रेस सभापति थापा उम्मेदवार बनेको सर्लाही–४ पनि संवेदनशील सूचीमा छ । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा बहुपक्षीय प्रतिस्पर्धा र विद्रोही उम्मेदवारका कारण चर्चामा रहेको यो क्षेत्र यसपटक थापाको आगमनसँगै बहस र चर्चाको केन्द्रमा पनि छ ।
२०७९ को निर्वाचनमा यो क्षेत्रबाट स्वतन्त्र उम्मेदवार सिंहले जितेका थिए । कांग्रेसबाट टिकट नपाएपछि उनी स्वतन्त्र उठेका थिए । यसपटक उनी रास्वपाबाट उम्मेदवार बनेका छन् ।
सर्लाहीमा ४ वटा निर्वाचन क्षेत्र छन् । यी सबै क्षेत्रका ३ सय १२ मतदानस्थलमध्ये १ सय ५८ वटा अति संवेदनशील तथा १ सय ३१ मतदानस्थललाई संवेदनशीलको सूचीमा राखिएको हो । २३ मतदानस्थल मात्र सामान्य सूचीमा छन् ।
जिल्ला सुरक्षा समितिका अनुसार सर्लाही–४को ८१ मतदानस्थल अति संवेदनशील तथा संवेदनशीलको सूचीमा छन् । भौगोलिक विकटता, नेपाल–भारत सीमा नजिक मतदान स्थल, विगतका निर्वाचनमा दलबीच भएका झडप तथा अपराधिक क्रियाकलापका आधारमा सुरक्षाका दृष्टिकोणले निर्वाचन क्षेत्रलाई वर्गीकरण गरिएको हो ।
यसअघिको निर्वाचनमा जिल्लामा ३ सय १८ मतदानस्थलमा ५ सय ९९ मतदान केन्द्र राखिएको थियो । यसपटकको निर्वाचनमा भने ३ सय १२ वटा मतदानस्थलमा ६ सय २८ मतदान केन्द्र तोकिएको छ ।
यसपटकको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको सर्लाही–४मा थापा र सिंहको प्रतिस्पर्धाले सुरक्षा जोखिम पनि बढ्न सक्ने विश्लेषण सुरक्षा निकायको हो ।
सलाही–४ मा धनकौल गाउँपालिका, रामनगर गाउँपालिका, बलारा नगरपालिका, बरहथवा नगरपालिकाको वडा नम्बर १ देखि ४ सम्म र वडा नम्बर १३ देखि १५ सम्म, विष्णु गाउँपालिकाको वडा नम्बर १ देखि ४ सम्म र बासबरिया गाउँपालिकाको वडा नम्बर १ देखि ३ सम्म रहेका छन् ।
सिंहलाई असहज
सिंहले यो क्षेत्रमा २०७४ चुनाव पनि जितेका थिए । २०७४ को चुनावमा जसपाबाट उम्मेदवार बनेका राकेश मिश्रलाई हराएर चुनाव जितेका थिए भने २०७९ को चुनावमा कांग्रेसका नागेन्द्र कुमारलाई हराएर सांसदमा विजयी भएका थिए ।
अहिले रास्वपाको घण्टी चुनाव चिन्ह लिएर चुनावमा होमिएका सिंहलाई चुनाव जित्नु फलामको चिउरा चपाउनु सरह हुने देखिएको छ ।
स्थानीयका अनुसार यसपटक सिंहलाई चुनाव जित्न निकै कठिन हुनेछ । थापाको आगमनपछि सिंहले पाउने भोट कांग्रेसलाई जान सकिने बलियो सम्भावना छ ।
यो पटक अमरेशलाई गगनको प्रतिष्पर्धी मानिए पनि उनले दोश्रो मतसम्म ल्याउन नसक्ने पनि आंकलन स्थानीयको छ । २०७९ को चुनावमा कांग्रेसबाट विद्रोह गरेर चुनावमा होमिएका सिंहले कांग्रेसका असन्तुष्टहरूको पनि मत पाएका थिए । अहिले गगन थापाको ‘इन्ट्री’ले सबैभन्दा बढी घाटा सिंहलाई नै हुनेछ ।
नेपाली कांग्रेसभित्र अहिले २०७९ को जस्तो असन्तुष्टि छैन । त्यतिबेला कांग्रेसबाट विद्रोह गरी गएको कारण असन्तुष्ट कांग्रेसीहरूको मत उनले पाएपनि यसपटक भने त्यसको सम्भावना भने न्यून छ ।
२०७९ को चुनावमा एमालेले जसपासँग चुनावी तालमेल गरेको थियो । तत्कालीन समयमा पाँच दलीय गठबन्धनले जसपा–एमालेको गठबन्धन तोड्न जसपाबाट चुनाव लडेका मिश्रलाई हराउन एमालेकै कार्यकर्ताहरूले पनि सिंहलाई मत दिएका थिए ।
तर अहिले एमालेले आफ्नै उम्मेदवार उठाएकोले एमालेको मत सिंहले पाउने छैनन् । सिंहले लगातार चुनाव जित्दै आएपनि विकासका नाममा सिन्को नभाँचेको पनि स्थानीयको गुनासो छ । त्यसैले उनीहरू यसपटक ठुलो पार्टीमै विद्रोह गरी आएका युवा नेता थापाप्रति आकर्षित भएको स्थानीयको भनाइ छ ।




प्रतिक्रिया