काठमाण्डु – तेस्रो बृहत बालसाहित्य महोत्सवको दोस्रो दिन सोमबार बालसाहित्य समाजका अध्यक्ष विजयराज आचार्यका ८ बाल साहित्यिक कृतिहरूको एकसाथ विमोचन भएको छ ।
माघ ११ गतेदेखि सुरु भएको तेस्रो बृहत् बालसाहित्य महोत्सवमा उनले आफ्नो ८ कृतिहरू सार्वजनिक गरेको अध्यक्ष आचार्यले जानकारी दिए ।
उनले ‘दशैंको आशिष’, ‘पाटे चितुवा’, ‘उनीहरू कहाँ गए होलान्’, ‘गोपाल’, ‘महिषपाल’, ‘किराँत’, ‘डेढ गगरिया’ र गौतम वृद्धको जीवनमा आधारित ‘सिद्धार्थ’ नाटकसहित ८ वटा कृतिहरू विमोचन भएको पनि बताए ।
नेपाल बालसाहित्य समाज ललितपुर महानगरपालिका र पाटन संग्रहालयको संयुक्त आयोजनामा पाटन दरबार संग्रहालयमा माघ ११ गतेदेखि सुरु भएको महोत्सव १३ गतेसम्म चल्नेछ ।
महोत्सवमा बाल साहित्य सम्बन्धी कार्यपत्र प्रस्तुति, बालसाहित्य र बालसरोकार सम्बन्धी विभिन्न विषयमा सामूहिक छलफल, बालसाहित्यका पुस्तक विमोचन, अन्तर्क्रिया र संग्रहालय प्रदर्शनी लगायतका आकर्षण रहनेछन् ।
महोत्सवमा उपत्यकाका काठमाण्डु, ललितपुर र भक्तपुरका विभिन्न विद्यालय, विद्यार्थी, शिक्षक, अभिभावक र साहित्यकार–कलाकारको सहभागितामा नृत्य, गायन, नाटक, कविता/कथावाचन लगायतका कार्यक्रम पनि हुनेछ ।
‘सामाजिक सञ्जाल र बालबालिका’, ‘स्थानीय सरकार र बालबालिका’, ‘बालसाहित्य, पाठ्यपुस्तक र पठन संस्कृति’, ‘बालसाहित्यको बदलिँदो परिस्थिति’, ‘सम्पदा, संस्कृति र बालबालिका’ विषयमा सत्र सञ्चालन हुनेछन् ।




प्रतिक्रिया