काठमाण्डु– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाबाट अमेरिका आयात हुने विभिन्न वस्तुमा २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन् । यसअघि ती वस्तुमा १५ प्रतिशत शुल्क लाग्दै आएको थियो ।
सामाजिक सञ्जाल टुथ सोशल मार्फत निर्णय सार्वजनिक गर्दै ट्रम्पले दक्षिण कोरियाली संसद्ले अमेरिकी पक्षसँग गरिएको “ऐतिहासिक व्यापार सम्झौता” अनुमोदन नगरेको भन्दै शुल्क वृद्धि गरिएको बताएका छन् ।
“कोरियाली विधायिकाले हाम्रो ऐतिहासिक व्यापार सम्झौता पारित नगरेको कारण जुन उनीहरूको अधिकार हो, अब म दक्षिण कोरियाबाट आयात हुने गाडी, काठ, औषधि तथा अन्य सबै पारस्परिक ट्यारिफ १५ प्रतिशतबाट बढाएर २५ प्रतिशत बनाउँदैछु,” ट्रम्पले लेखेका छन् । तर, संशोधित दर कहिलेदेखि लागू हुनेछ भन्ने स्पष्ट गरिएको छैन् ।
दक्षिण कोरिया सन् २०२४ मा अमेरिकाको प्रमुख आयात साझेदारमध्ये एक रहँदै आएको छ । अमेरिकी वाणिज्य विभागका अनुसार गत वर्ष दक्षिण कोरियाले अमेरिकामा १३२ अर्ब अमेरिकी डलर बराबरका वस्तु निर्यात गरेको थियो । तीमध्ये गाडी तथा अटो पाट्र्स, सेमिकन्डक्टर र इलेक्ट्रोनिक्स प्रमुख हुन् । नयाँ शुल्कका कारण यी क्षेत्रमा मूल्य वृद्धि हुन सक्ने अनुमान गरिएको छ ।
यो निर्णय गत जुलाईमा घोषणा गरिएको व्यापार सम्झौताबाट पछाडि फर्किएको कदमका रूपमा हेरिएको छ । उक्त सम्झौताअनुसार दक्षिण कोरियाबाट आयात हुने सामानमा समान १५ प्रतिशत ट्यारिफ लगाइने भनिएको थियो, जुन ट्रम्पले पहिले चेतावनी दिएका दरभन्दा १० प्रतिशत कम थियो । (एएनआई)




प्रतिक्रिया