काठमाण्डु– प्रधानमन्त्री सुशीला कार्कीले काठमाण्डु–तराई द्रुतमार्गको निरीक्षण गरेका छन् । प्रधानमन्त्री कार्की मंगलबार बिहानै द्रुतमार्ग निरीक्षणमा निस्किएकी हुन् ।
निरीक्षणका क्रममा प्रधानमन्त्री कार्कीसँग परराष्ट्रमन्त्री बालनन्द शर्मा समेत सहभागी छन् । उनीहरूले द्रुतमार्ग निर्माणको प्रगति, गुणस्तर तथा समयसीमाबारे जानकारी लिएको बताइएको छ।

सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको काठमाण्डु–तराई द्रुतमार्गलाई प्राथमिकतामा राखेर काम अगाडि बढाइरहेको छ।
प्रधानमन्त्री कार्कीले सडक पूर्वाधारलगायतका विकास निर्माण अघि बढाउँदा धार्मिक विश्वास र सांस्कृतिक सम्पदालाई असर पुर्याउन नहुनेमा जोड दिइन् ।
उनले भनिन् ‘स्थानीयका सरोकारलाई गम्भीरतापूर्वक ध्यान दिई समाधान खोज्नुपर्छ । आवश्यक परेको खण्डमा रेखाङ्कन र जिरोविन्दु समेत परिवर्तनका लागि तयार हुनुपर्छ । उहाँहरुको विश्वासमा आधात नपुग्ने गरी हाम्रा विकास निर्माण अघि बढाउनुपर्छ ।”
प्रधानमन्त्री कार्कीले भौतिक संरचना लगायतका निर्माण गरिँदा आवश्यक पर्याप्त खाली ठाउँको व्यवस्था मिलाउन समेत सुझाव दिइन् ।
ललितपुरको खोकनाबाट बाराको निजगढसम्म यसको दुरी ७०.९७ किलोमिटर छ। यस राजमार्गमा अहिलेसम्म विशेष प्रकृतिका १३ वटा पुल निर्माण भइसकेका छन्। कतिपय पुल ८२ मिटरसम्म उचाइका छन्।
आयोजनाका विभिन्न खण्डमा करिब १३ किलोमिटर लम्बाइका कुल ८९ वटा पुल निर्माण गर्ने तयारी छ। राजमार्गको ३३.६२ प्रतिशत खण्डमा पुल र सुरुङ निर्माण भइरहेको नेपाली सेनाले जनाएको छ।






प्रतिक्रिया