काठमाण्डु – नेकपा एमालेका सांसद गोपाल भट्टराईले सरकारको संसदप्रतिको दृष्टिकोण गलत रहेको आरोप लगाएका छन् ।
मंगलबार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै उनले सरकारले कामको सुरुवातमै संसदमाथि हस्तक्षेप गरेको आरोप लगाउँदै संसदीय दलका कार्यालयहरू प्राय: बन्द रहेको, कर्मचारी हटाइएको र विधायकी कार्यका लागि आवश्यक जनशक्ति अभाव भएको बताए ।
उनले भने, ‘सरकारले कामको सुरुवातमै संसद्माथिको हस्तक्षेपबाट सुरु गरेको छ । संसदीय दलका कार्यालयहरू बन्द प्राय: छन् । कर्मचारीहरू हटाइएका छन् । विधायकी कार्यको लागि जनशक्तिको अभाव छ, जनशक्ति बिनाको विधायकी कार्य सांसदले कसरी गर्न सक्छन् ?’
अहिले चुनावी प्रक्रिया अघि बढिरहेकाले आगामी बैठकहरू प्रभावित हुन सक्ने सम्भावना रहेको उल्लेख गर्दै त्यसतर्फ पनि सदनको ध्यान जानुपर्ने बताए ।
उनले भने, ‘अहिले चुनावी प्रक्रिया अगाडि बढेको छ, हामी पार्टीबाट प्रतिनिधित्व गर्छौं । चुनावमा पनि हाम्रो भूमिका रहन्छ, त्यसकारण अबका बैठकहरू प्रभावित हुन सक्ने सम्भावना पनि छ, त्यसतर्फ ध्यान जान जरुरी छ ।’
संसद्मा हस्तक्षेप गरेर संसद् सञ्चालन हुन नसक्ने भन्दै सरकारको संसदप्रतिको दृष्टिकोण नै गलत रहेको उनले दाबी गरे । ‘यो सरकारले संसदलाई हस्तक्षेप गरेर यो संसद् कसरी चल्छ ? त्यसैले सरकारको संसद्प्रतिको ढृष्टिकोण गलत छ,’ उनले भने ।




प्रतिक्रिया