‘भावी प्रधानमन्त्री’ बन्ने देश दौडाहामा बालेन अगाडि, के गर्दैछन् केपी र गगन ?

‘भावी प्रधानमन्त्री’ बन्ने देश दौडाहामा बालेन अगाडि, के गर्दैछन् केपी र गगन ?


काठमाण्डु – जेनजी आन्दोलनको जगमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रमुख दलहरूले ‘भावी प्रधानमन्त्री’को नाम सार्वजनिक गरेका छन् । जसमा नेकपा एमालेबाट अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसबाट सभापति गगनकुमार थापा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’को नाम घोषणा गरिएको छ ।

भावी प्रधानमन्त्रीका रूपमा सार्वजनिक गरिएका तीनै जनालाई एकातिर आफ्नो निर्वाचन क्षेत्रबाट विजयी हुनुपर्ने चुनौतीपूर्ण अवस्था छ भने अर्काेतिर देशैभरका कार्यकर्ता र मतदातासँग प्रत्यक्ष भेटवार्ता गर्नुपर्ने बाध्यता ।

उम्मेदवारी दर्तापछि केही दिन झापाको निर्वाचन क्षेत्र नम्बर ५ मा बिताएका बालेन देश दौडाहामा छन् । उनले सुदूरपूर्वको उत्तरी क्षेत्र ताप्लेजुङको पाथिभरा मन्दिरको दर्शन गरिसकेका छन् भने सुदूरपश्चिमको दार्चुलाको गोकुलेश्वर पनि पुगिसकेका छन् ।

रास्वपा सभापति रवि लामिछानेसँगको सहमतिमा उनी पुस १३ गते भावी प्रधानमन्त्री रूपमा घोषणा भएका थिए । त्यसपछि उनले माघ ४ काठमाण्डु महानगरपालिकाको मेयर पदबाट राजीनामा दिए । चुनावी अभियानमा निस्किँदै उनले माघ ५ जनकपुरमा सभालाई सम्बोधन गरे भने माघ ६ गते निर्वाचन क्षेत्रमा पुगेर उम्मेदवारी दर्ता गराए । उम्मेदवारी दर्तापछि केही दिन मतदाता भेटघाट गरेर उनी देश दौडाहामा निस्किएका छन् ।

उनले माघ ९ गते ताप्लेजुङको पाथिभरा पुगेर मन्दिरको दर्शन गरिसकेका छन् भने माघ १४ गते बुधबार दार्चुलाको गोकुलेश्वर पुगेका छन् । देश दौडाहाका क्रममा उनले विभिन्न निर्वाचन क्षेत्रमा उम्मेदवार र मतदातासँग भेटवार्ता गरिसकेका छन् । उनको चुनावी अभियानमा सर्वसाधारणको उल्लेख्य सहभागिता देखिएको छ ।

पछिल्लो चुनावका लागि एमालेले सार्वजनिक सभा गरेको छैन । संसद् पुन:स्थापनाको माग राख्दै आन्दोलनका कार्यक्रम गरेको एमालेले चुनावका लागि कुनै औपचारिक कार्यक्रम गरेको छैन । नेकपा एमालेका अध्यक्ष ओली निर्वाचन क्षेत्र झापा–५ का विभिन्न कार्यक्रममा सामेल भइरहेका छन् ।

पार्टीभित्रको आन्तरिक विवाद समाधानसँगै उम्मेदवार छनोटको चटारोमा परेका कांग्रेस सभापति थापा पनि देश दौडाहा निस्किन पाएका छैनन् । उनी हाल आफ्नै निर्वाचन क्षेत्रमा मत माग्न व्यस्त छन् ।

यसरी भावी प्रधानमन्त्री बन्ने दौडमा रहेका ओली, थापा र शाहमध्ये देश दौडाहामा शाह अगाडि देखिएका छन् ।