सिमकोट – आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमाले हिमपातकै बिच प्रचार अभियानको औपचारिक शुरुआत गरेको छ ।
सिमकोट गाउँपालिका–५ खाद्यकको चौपाडीबाट आफ्नो चुनावी अभियान सुरु गरेको नेकपा एमालेका केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन मूल कमिटीका संयोजक दल रावलले जानकारी दिए ।
एमाले निर्वाचन परिचालन कमिटीको बैठकले बुधबारबाट औपचारिक रूपमा प्रचार अभियान थाल्ने योजनाअनुसार नै एमालेले बुधबार तल्लो गाउँबाट प्रचारको कामको शुरुआत गरेको एमाले प्रचारप्रसार उपसमितिका संयोजक तिर्थराज बोहराले जानकारी दिए । उनका अनुसार चौपाणीमा आयोजित कोणसभालाई एमालेका केन्द्रीय सदस्य तथा प्रत्यक्ष उम्मेरदवार दल फडेरा, केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेरदवार गोरखबहादुर बोगटी र एमाले निर्वाचन परिचालन कमिटीका संयोजक तथा केन्द्रीय सदस्य रावलले सम्बोधन गरेका छन् ।
सम्बोधनमा प्रत्यक्ष उम्मेरदवार दल फडेराले निर्वाचनमा देश जलाउने र देश बनाउने बिचको लडाइँ भएकाले देश जलाउनेभन्दा बनाउने पार्टी एमालेका उम्मेदवारलाई भोट हाल्न आग्रह गरेका छन् ।
समानुपातिक उम्मेदवार गोरखबहादुर बोगटीले २६ वर्षसम्म जिल्लाका अन्य दलका प्रतिनिधिहरूको काम गर्ने तौरतरिका देखिसकेको र एमालेले प्रतिनिधि सभामा गएर जिल्लाका लागि भूमिका खेल्ल नपाएको हुँदा यसपटक एमालेलाई विजयी गराउन आग्रह गरे ।
एमाले हुम्लाका नेता तथा कार्यकर्तासहित गएका उम्मेरदवारले सिमकोट तल्लो गाउँ र माथिल्लो बजारका स्थानीय र व्यापारीसँग मत माग्दै घरदैलो कार्यक्रम गरेको जनाइएको छ ।
यसैबिच आगामी फागुन २१ ग्ते हुने प्रतिनिधिसभा निर्वाचनको प्रचारण रणनीति निर्माण गर्न एमालेले जिल्लाका ४३ वटा वडाको बैठक आयोजना गरेको एमाले हुम्लाका अध्यक्ष ज्ञामी वुमीले जानकारी दिए ।
पार्टी जिल्लाको सर्कुलर अनुसार बुधबार नाम्खा ५ लिमी बाहेकका वडा कमिटीको बैठक बस्ने काम भएको जानकारी जिल्ला कमिटीलाई आएको अध्यक्ष वुमीले रेडियो कर्णाली आवाजलाई बताए ।
हिमपातकै बिच सबै वडा कमिटीले बैठकको आयोजना गरी वडा स्तरीय निर्वाचन कार्यालय स्थापना गर्ने र वडा स्तरीय प्रचार अभियानको कार्ययोजना बनाउने काम गरिरहेको एमाले हुम्लाले जनाएको छ ।




प्रतिक्रिया