काठमाण्डु– होटल फरेष्ट इन लिमिटेड यही माघ २२ गतेदेखि सर्वसाधारणका लागि आइपिओ जारी गर्ने भएको छ।
कम्पनीले ३३ लाख २० हजार कित्ता सर्वसाधारणका लागि बिक्री खुला गर्न लागेको हो।
होटलले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले कुल ४० लाख कित्ता आइपिओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ।
जसमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा ४ लाख कित्ता आईपीओ जारी गरी बाँडफाँट गरिसकेको छ।
यस आइपिओमा आवेदन दिदा न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ। आवेदन माघ २२ गतेदेखि माघ २६ गते समयसम्म दिन सकिनेछ।
यो आइपिओ बाँडफाँट गर्दा ३ लाख ३२ हजार आवेदकले १०–१० कित्ताका दरले सेयर पाउनेछन्।
यस कम्पनीको बिक्री प्रबन्धकको काम एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।
यस्तै रिज लाइन इनर्जी लिमिटेडले माघ २८ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ।
कम्पनीले दोस्रो चरणमा ११ करोड ८० लाख २६ हजार रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ दरका ११ लाख ८० हजार २६० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्कासन गर्न लागेको हो।
सो आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।
कम्पनीको आइपिओमा फागुन ४ गतेसम्म आवेदन दिन सकिनेछ सो समयसम्म सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा बिक्री अवधि फागुन १३ गतेसम्म लम्बिनेछ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।




प्रतिक्रिया