काठमाण्डु- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जेनजी आन्दोलनपछि पार्टीलाई रुपान्तरण गरेर अघि बढाउन सफल भएको दाबी गरेका छन्।
बिहीबार काठमाण्डुमा भएको निर्वाचन केन्द्रित कार्यक्रममा उपसभापति शर्माले पार्टीको नेतृत्व चयनदेखि उम्मेदवार छनेटसम्म पार्टीलाई रुपान्तरण गरेर अघि बढाउन सफल भएको दावी गरे।
उनले प्रतिनिधिसभा निर्वाचनअघि कांग्रेसभित्रको आन्तरिक असन्तुष्टिमा अल्झने छुट कसैलाई नरहेको पनि बताए।
अघिल्लो निर्वाचनको तुलनामा यसपटक १६५ क्षेत्रमध्ये १०६ ठाउँमा नयाँ अनुहार पठाएको उल्लेख गर्दै शर्माले महिला उम्मेदवारको संख्या पनि केहि धेरै राखिएको र आगामी दिन अझै बढाएर जाने बताए ।
उपसभापति शर्माले पार्टीभित्र सबै पक्षलाई सन्तुलन मिलाएर सबैलाई न्यायोचित तवरले टिकट वितरण गरिएको दावी गरे । उनले विभिन्न मापदण्डका आधारमा पार्टी सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको स्पष्ट पारे ।
विवाद र फरक मतलाई पछाडि राख्दै नयाँ र पुराना सबै नेतालाई एकै छातामुनि राखेर नेपाली कांग्रेस अगाडि बढिरहेको शर्माको भनाइ छ।
शर्माले कांग्रेसको प्रधानमन्त्री उम्मेदवार नयाँ युग र नयाँ राजनीतिक सन्दर्भको प्रतिनिधि भएको दाबी गरे।
कांग्रेस सद्भाव र सहअस्तित्वको मूल्य बोकेको पार्टी भएको र समाजमा मेलमिलाप र एकताको सन्देश दिँदै आएको उनको भनाइ छ।
भावी प्रधानमन्त्रीको उम्मेदवारबीच बहस भए आफ्ना उम्मेदवारलाई जुनसुकै स्थानमा पठाउन कांग्रेस तयार रहेको पनि उनले बताए ।
शर्माले देश बनाउने भिजनसहितको पार्टीको घोषणपत्र छिटै सार्वजनिक गरिने जानकारी दिए।




प्रतिक्रिया