प्रहरी चारित्रिक प्रमाणपत्रमा कडाइ, वैदेशिक अध्ययन र रोजगारी रोकिन सक्ने चेतावनी

प्रहरी चारित्रिक प्रमाणपत्रमा कडाइ, वैदेशिक अध्ययन र रोजगारी रोकिन सक्ने चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृह मन्त्रालयले अपराध सम्बन्धी राष्ट्रिय अभिलेखलाई व्यवस्थित गर्न र प्रहरी चारित्रिक प्रमाणपत्र वितरणलाई पारदर्शी बनाउन जारी गरिएको निर्देशिका २०८० को पूर्ण पालना गर्न आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेद्वारा जारी सूचनामा कानून विपरीतका गतिविधिमा संलग्न हुने व्यक्तिको विवरण चारित्रिक प्रमाणपत्रमा खुल्ने भएकाले सचेत रहन भनिएको छ ।

निर्देशिकाका मुख्य प्रावधान हाल कार्यान्वयनमा रहेको अपराध सम्बन्धी राष्ट्रिय अभिलेख व्यवस्थापन तथा प्रहरी चारित्रिक प्रमाणपत्र वितरण निर्देशिका २०८० अनुसार प्रमाणपत्र उपलब्ध गराउने स्पष्ट प्रक्रिया तोकिएको छ ।

निर्देशिकामा अनलाइन एपमार्फत प्रमाणपत्र वितरण गर्न सकिने, प्रमाणपत्रमा कसूर उल्लेख गर्ने वा नगर्ने सम्बन्धमा स्पष्ट मापदण्ड, जारी प्रमाणपत्रमा कुनै पनि प्रकारको केरमेट वा थपघट गर्न नपाइने, राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीसँग यसलाई आबद्ध गरिने व्यवस्था गरिएको छ ।

मन्त्रालयले प्रमाणपत्रमा केरमेट गर्ने, थपघट गर्ने वा निर्देशिका प्रतिकूल हुने गरी प्रमाणपत्र प्राप्त गर्ने कार्यलाई गम्भीर अपराध मानेको छ । यस्तो कार्य गरेमा प्रचलित कानूनका साथै मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–२५ बमोजिम ’लिखत सम्बन्धी कसूर’मा कडा सजाय हुने व्यवस्था छ ।

वैदेशिक यात्रामा पर्ने प्रभाव गृह मन्त्रालयले विशेषगरी वैदेशिक अध्ययन, भ्रमण र रोजगारीका लागि विदेश जान चाहने युवाहरूलाई लक्षित गर्दै सचेत गराएको छ । कुनै पनि कसूरजन्य कार्यमा संलग्न भएमा वा गलत प्रक्रियाबाट प्रमाणपत्र बनाउन खोजेमा सोको विवरण प्रहरी अभिलेखमा रहने र त्यसले भविष्यमा विदेश जाने अवसरमा प्रत्यक्ष प्रतिकूल प्रभाव पार्ने सूचनामा उल्लेख छ ।

‘कानून विपरीत काम कारवाही गरेमा त्यस्ता विवरण प्रहरीले जारी गर्ने चारित्रिक प्रमाणपत्रमा उल्लेख हुनेछन्, जसले वैदेशिक अध्ययन र रोजगारीमा प्रत्यक्ष असर पुर्‍याउँछ,’ प्रवक्ता काफ्लेद्वारा जारी सूचनामा भनिएको छ, ‘तसर्थ भविष्यमा पर्न सक्ने प्रतिकूल प्रभावलाई ध्यानमा राखी मौजुदा कानूनी व्यवस्था र विधि बमोजिम मात्र काम कारवाही गर्न सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’