चोरीको मोटरसाइकलसहित १ जना पक्राउ, नम्बर प्लेट बदलेर चलाएको खुलासा

चोरीको मोटरसाइकलसहित १ जना पक्राउ, नम्बर प्लेट बदलेर चलाएको खुलासा

File Photo

भक्तपुर – काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले नम्बर प्लेट परिवर्तन गरी चोरीको मोटरसाइकल चलाउने १ जनालाई भक्तपुरको सूर्यविनायकबाट नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका–८ का २६ वर्षीय समिर त्वाटी रहेका छन् । उनलाई सोमबार सोही ठाउँबाट वास्तविक नम्बर प्लेट बदलेर चलाइरहेको अवस्थामा प्रहरीले फेला पारेको हो ।

त्वाटीले बागमती प्रदेश ०२–०२९ प २५९९ नम्बरको मोटरसाइकलको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२–०३३ प १२८७ नम्बर राखेर चलाइरहेको अवस्थामा ट्राफिक प्रहरीको फन्दामा परेका हुन् । मोटरसाइकल केही समयअघि काठमाण्डु महानगरपालिका–४ धुम्बाराहीबाट हराएको थियो । मोटरसाइकल हराएपछि सर्लाहीको कविलासी नगरपालिका २ घर भएका प्रकाश सिंहले खोजतलासका लागि ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।

पक्राउ परेका त्वाटीलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिए ।

प्रवक्ता सुवेदीले सवारीसाधन चोरीका घटना बढ्दै गएकाले सम्पूर्ण सवारी धनीहरूलाई आफ्ना सवारीसाधन सुरक्षित स्थानमा मात्र पार्किङ गर्न र थप सुरक्षाका उपायहरू अपनाउन अनुरोध गरेका छन् । उनले सवारीसाधनमा ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक र सुरक्षा साइरनहरू जडान गर्न सुझाव दिँदै मानिसहरूको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न समेत आग्रह गरे । सवारीसाधन हराएमा तत्काल ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ वा नेपाल प्रहरीको १०० मा फोन गरेर विवरण टिपाउन र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन समेत प्रहरीले सबैमा अनुरोध गरेको छ ।