वैदेशिक व्यापारमा निर्यात ४३.८ प्रतिशतले बढ्यो

वैदेशिक व्यापारमा निर्यात ४३.८ प्रतिशतले बढ्यो


काठमाण्डु – आर्थिक वर्ष २०८२/८३ को ६ महिनामा वस्तु निर्यात ४३.८ प्रतिशतले वृद्धि भई १ खर्ब ४२ अर्ब २ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा निर्यात ३१.८ प्रतिशतले वृद्धि भएको थियो ।

भारतमा ५७.० प्रतिशत र अन्य मुलुकमा १०.७ प्रतिशतले निर्यात बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । चीनतर्फको निर्यातमा ६६.७ प्रतिशतले कमी आएको छ ।

वस्तुगत आधारमा भटमासको तेल, अलैंची, पाम तेल, जुटका सामान, जुत्ता तथा चप्पल लगायतका वस्तुको निर्यात बढेको छ भने जिंक सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा, हस्तकलाका सामान तथा अन्य हस्तकला लगायतका वस्तुको निर्यात घटेको छ ।

निर्यात बढे पनि आयात भने घटेको छैन, बरु उल्टै बढेको छ । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ को ६ महिनामा कुल वस्तु आयात १४.२ प्रतिशतले वृद्धि भई ९ खर्ब ३९ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७.१ प्रतिशतले वृद्धि भएको थियो ।

आयातमा भारतबाट ५.९ प्रतिशत, चीनबाट २२.१ प्रतिशत र अन्य मुलुकबाट ३२.४ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा भटमासको कच्चा तेल, रासायनिक मल, यातायातका उपकरण, सवारीसाधन, स्पेयर पार्टस्, चाँदी, सुन लगायतका वस्तुको आयात बढेको छ भने हट रोल्ड शिट इन क्वाइल, खाने तेल, लसुन, दाल, तेलहन लगायतका वस्तुको आयात घटेको छ ।

आर्थिक वर्ष २०८२/८३ को ६ महिनामा कुल वस्तु व्यापार घाटा १०.१ प्रतिशतले वृद्धि भई ७ खर्ब ९७ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ४.४ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १५.१ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १२.० प्रतिशत रहेको थियो ।

६ महिनामा भारतबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी गरी ८६ अर्ब ८६ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ८८ अर्ब ५६ करोड बराबरको भएको थियो ।