काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने बिहीबार आफ्नो निर्वाचन क्षेत्र चितवन जाँदै छन् ।
सभापति लामिछानेले सामाजिक सञ्जालमा स्टाटस लेख्दै बिहीबार चितवन प्रस्थान जाने बताएका छन् । उनी चितवन–२बाट उम्मेदवारी दिएका हुन् ।
उनले सोमबार नै चितवन जान खोजेको भए पनि चिकित्सकले रोकेका उल्लेख गरेका छन् । उनको खुट्टाको घाउ पूर्ण निको भइसकेको छैन ।
उनी चितवन गए पनि लामिछाने केही समय घरदैलो अभियान नगर्ने र आफ्नै निवासमा भेटघाट र चुनावी रणनीति बनाउने छन् ।
सभापति लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले आगामी फागुन १ गतेबाट संयुक्त रूपमा देशव्यापी चुनावी अभियान थाल्ने छन् । रवि–बालेनले सातै प्रदेशका मुख्य सहर र चुनावी क्षेत्रहरूमा सम्बोधन गर्नेगरी कार्यतालिका तयार भएको छ ।
बालेन हाल निर्वाचन प्रचारप्रसारको क्रममा पूर्वी नेपालमा छन् । उनी झापा–५बाट उम्मेदवार बनेका छन् ।
रास्वपा नेतृ प्रतिभा रावलले फागुनमा सभापति लामिछाने र वरिष्ठ नेता शाह देश दौडामा हिँड्ने तय भइसकेको बताइन् ।
‘उहाँहरूले सातवटै प्रदेशमा पुग्नेगरी कार्यतालिका बन्दैछ,’ उनले भनिन् ।
यसअघि माघ ४ गते लामिछाने र बालेन एकसाथ जनकपुर गएर रास्वपाको पहिलो चुनावी सभामा भाग लिएका थिए ।




प्रतिक्रिया