लहान – मधेश राजनीतिमा लामो समयदेखि सक्रिय रहेका जनता समाजवादी पार्टी (जसपा) नेपालका थुप्रै नेताहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् ।
नवप्रवेशीहरूले रास्वपाको सदस्यता ग्रहण गर्दै व्यवस्था परिवर्तनको अभियानमा साथ दिने घोषणा गरेका हुन् ।
रास्वपा प्रवेश गर्नेहरूमा जसपा मधेश प्रदेशका कोषाध्यक्ष विष्णु कुमार साह, लहान नगरपालिकाका उपमेयर रामचलितर महतो र गोलबजारका पूर्वनगर अध्यक्ष हरिनारायण ‘हिरा’ रहेका छन् ।
२०७० सालको संविधानसभा निर्वाचनमा उम्मेदवार रहेका नेता रामसोगरथ यादव, अघिल्ला २ निर्वाचनमा मेयर पदमा झिनो मत अर्थात् १७८ मतको अन्तरले पराजित भएका संघर्षशील नेताहरू, वडा समिति अध्यक्ष सुरेश साह र पूर्व क्षेत्रीय अध्यक्ष पवित्रनारायण यादव पनि रास्वपामा समाहित भएका छन् ।
यसैबिच, सिरहाको गोलबजारमा आयोजित कार्यक्रममा एमालेका नेता तथा कार्यकर्ताहरूले सामूहिक राजीनामाको घोषणा गरेका छन् । प्रदेश कमिटी सदस्य पुष्पलाल पाख्रिन, पूर्व जिल्ला कमिटी सदस्य माधव बहादुर बुढाथोकी, बुद्धिजीवी तथा शिक्षक संगठनका प्रदेश सदस्य भिम बहादुर थापा र पूर्व जिल्ला कमिटी सदस्य धनराज यादव (घुरन) लगायतका नेताहरूले पार्टी परित्याग गरेका हुन् ।
उनीहरूले जारी गरेको सामूहिक प्रेस विज्ञप्तिमा पार्टी नेतृत्वमा स्वेच्छाचारी व्यवहार बढेको, कार्यकर्ताको भावनालाई बेवास्ता गरिएको र सीमित व्यक्तिको स्वार्थ हावी भएको आरोप लगाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘नेतृत्वको कार्यशैली र कार्यदिशासँग हाम्रो सहमति रहेन, यो निर्णय बाध्यता नभई आत्मसम्मान र राजनीतिक सिद्धान्तका लागि लिइएको हो ।’





प्रतिक्रिया