काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सिंगो देशले पाएको दु:खको अगाडि आफ्नो पीडा केही पनि नभएको बताएका छन् ।
बिहीबार चितवन पुगेका उनले देशले पाएको दु:ख आफ्नोभन्दा धेरै ठूलो भएको भन्दै आजबाट देशको पीडा र त्यसलाई समाधान गर्नको लागि काम गर्ने बताए ।
उनले भने, ‘सिंगो देशले पाएको दु:खको अगाडि मेरो कुनै हिसाब छैन । सिंगो देशले दु:ख पाएको छ । आजबाट कहिलेकाहीँ धेरै पीडा भएर कराएछु भने सुनिदिनुहोला, नत्र भने आजबाट म मेरो पीडाको कुरा गर्दिनँ, देशको पीडाको कुरा गर्छु, त्यसलाई समाधान गर्नका लागि हामी कसरी जानुपर्छ, त्यसको लागि जानेछौं । म कुनै राजनीतिक दल वा अरु नेतालाई गाली गर्ने पक्षमा छैन ।’
उनले मुलुकलाई समृद्धि र स्थायी शान्तिको विषयलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने पनि बताए । उनले भने, ‘यो मुलुकलाई कसरी समृद्ध बनाउन सकिन्छ, स्थायी शान्ति कसरी हुन्छ, युवाहरूलाई रोजगारी कसरी गर्न सकिन्छ, उद्योगहरू कसरी स्थापित गर्न सकिन्छ, गुणस्तरीय सेवा सबैको पहुँचमा कसरी पुर्याउन सकिन्छ भन्ने विषय हाम्रो प्राथमिकता हो ।’
चितवनबाट नै एउटा निलो क्रान्तिको बिउँ रोपिएको भन्दै त्यो बेला रोपेको बिरुवालाई निमोठ्न, काट्न र बाँच्न खोजिएको पनि उनको भनाइ छ ।




प्रतिक्रिया