काठमाण्डु – राजधानीस्थित काठमाण्डु महानगरपालिका–१० मा सञ्चालन हुँदै आएको ह्याप्पी एजुकेशनल कन्सल्टेन्सीका सञ्चालक वैदेशिक अध्ययन र रोजगारीको प्रलोभन देखाई ठूलो रकम ठगी गरेको आरोपमा पक्राउ परेका छन् ।
चितवनको राप्ती नगरपालिका–२ घर भई हाल काठमाण्डुमा कन्सल्टेन्सी सञ्चालन गर्दै आएका ३२ वर्षीय बद्री सिलवालले अध्ययन भिसामा विदेश पठाइदिने भन्दै २ जना विद्यार्थीबाट कन्सल्टेन्सीको खातामा जम्मा २१ लाख ७० हजार रुपैयाँ जम्मा गराई पोर्चुगल पठाउने प्रक्रिया भइरहेको भनी झुक्याएको आरोप छ । पछि कन्सल्टेन्सी बन्द गरी फरार भएको भन्ने जाहेरीका आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले माघ २० गते सिलवाललाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।
प्रहरीका अनुसार बद्री सिलवालले आफ्नो परिचय ‘केदार प्रसाद सिलवाल’ भनेर परिवर्तन गरी अर्का एक विद्यार्थीलाई अध्ययन भिसामा स्पेन पठाइदिने बहानामा १२ लाख रुपैयाँको चेक काट्न लगाई भुक्तानी लिएको खुलेको छ ।
बैंक खातामा थप ४० हजार रुपैयाँ जम्मा गराई जम्मा १२ लाख ४० हजार रुपैयाँ ठगी गरेको सम्बन्धमा समेत जाहेरी दरखास्त प्राप्त भएको छ ।
सिलवालले चितवनको भरतपुर उपमहानगरपालिका–१० मा समेत ह्याप्पी एजुकेसनल कन्सल्टेन्सी सञ्चालन गरी ४ जनालाई सर्बिया कामदार भिसामा पठाइदिने भन्दै २१ लाख ९० हजार ५०० रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरी पनि परेको प्रहरीले जनाएको छ । यसका अतिरिक्त, स्पेन पठाइदिने आश्वासन दिएर अन्य ३ जनाबाट समेत १२ लाख रुपैयाँ ठगी गरेको भनी पीडितहरू प्रहरी सम्पर्कमा आएका छन् ।
हालसम्म प्राप्त उजुरीअनुसार बद्री सिलवालले विभिन्न बहानामा धेरै व्यक्तिहरूबाट ठूलो रकम असुली ठगी गरेको देखिएको प्रहरीले जनाएको छ । घटनासम्बन्धी थप विवरण संकलन गर्दै पीडितको संख्या र ठगी रकम यकिन गर्ने कार्य भइरहेको तथा कानूनी कारबाही अघि बढाइएको प्रहरीको भनाइ छ ।




प्रतिक्रिया