काठमाण्डु– सरकारले चालू आर्थिक वर्षका लागि ल्याएको बजेटको आकार घटाएको छ। अर्धवार्षिक समीक्षाअनुसार सुरु विनियोजनको ८५.९६ प्रतिशत मात्रै खर्च हुने जनाएको हो।
यसअनुसार चालू आवमा १६ खर्ब ८८ अर्ब ३२ करोड ६७ लाख रुपैयाँ कुल बजेट खर्च हुने अर्थ मन्त्रालयको अनुमान छ।
तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सुरूमा १९ खर्ब ६४ अर्ब ११ करोड रूपैयाँको बजेट विनियोजन गरेका थिए । अर्धवार्षिक समीक्षामार्फत यसलाई घटाएर १६ खर्ब ८८ अर्ब ३२ करोड रूपैयाँ कायम गरिएको छ । यो सुरु विनियोजनको तुलनामा करिब २ खर्ब ७५ अर्ब रूपैयाँले कम हो ।
खर्चको संशोधित संरचनाअनुसार चालूतर्फ ११ खर्ब २५ अर्ब ९७ करोड ९४ लाख अर्थात् विनियोजनको ९५.३४ प्रतिशत खर्च हुने अनुमान छ। पुँजीगततर्फ यस वर्ष २ खर्ब ४३ अर्ब ३० करोड ३४ लाख अर्थात् विनियोजनको ५९.६५ प्रतिशत खर्च हुने अर्थ मन्त्रालयले जनाएको छ।
अर्थ मन्त्रालयले पुँजीगत खर्च न्यून हुनुमा आयोजनाको पूर्वतयारीको अभाव, जग्गा प्राप्ति र वन क्षेत्रको उपयोगमा रहेका जटिलता तथा भदौ २३ र २४ गते भएको आन्दोलनका कारण भौतिक संरचनामा पुगेको क्षतिलाई मुख्य कारण मानेको छ ।
वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब १९ अर्ब ४ करोड ३९ लाख अर्थात् विनियोजनको ८५.०२ प्रतिशत खर्च अनुमान गरिएको छ।




प्रतिक्रिया