काठमाण्डु– रिज लाइन इनर्जी लिमिटेडले आजदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुला गरेको छ ।
कम्पनीले दोस्रो चरणमा ११ करोड ८० लाख २६ हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ दरका ११ लाख ८० हजार २६० कित्ता साधारण शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गरेको हो ।
कम्पनीले जारी पूँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत बराबरको २६ करोड ७ लाख रुपैयाँ मूल्यको २६ लाख ७ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।
यसमध्ये ११ लाख ८५ हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि र १ लाख ४२ हजार २०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरी बाँडफाँट गरिसकिएको छ ।
कर्मचारीका लागि २८ हजार ४४० कित्ता र सामूहिक लगानी कोषका लागि ७१ हजार १०० कित्ता छुट्याइएको छ ।
आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । छिटोमा फागुन ४ गते र ढिलोमा फागुन १३ गते सम्म आवेदन दिन सकिने छ । आइपिओ निष्कासनका लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सबै सि–आसब्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा विकसित ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत सि–आसब्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन् ।
रिज लाइन इनर्जीले ९.०५ मेगावाट क्षमताको सुपर चेपे जलविद्युत आयोजना सञ्चालन गर्दै आएको छ । आयोजनाको कुल लागत २ अर्ब ९ करोड ६० लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २३ करोड १६ लाख रुपैयाँ रहेको छ ।
आयोजनाबाट २०८० माघ ८ गतेदेखि व्यवसायिक उत्पादन सुरु गरी राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत बिक्री भइरहेको छ ।




प्रतिक्रिया