काठमाण्डु– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हाताभित्र एक महिने निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डुले सूचना जारी गर्दै निषेधाज्ञा जारी गरिएको जनाएको हो ।
विमानस्थल र आसपासको क्षेत्रमा फागुन १ गते भेलाजम्मा र ऱ्यालीजस्ता गतिविधि गर्ने भनी केही समूह तथा राजनीतिक दलबाट जारी भएको विज्ञप्तिलाई लिएर गम्भीर ध्यानाकर्षण भएको भन्दै निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख छ ।
आज बिहीबारदेखि लागू हुने गरी एक महिनासम्मका लागि विमानस्थल हाताभित्र निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा जारी भएसँगै अब पाँच जनाभन्दा बढी व्यक्तिहरू भेला भएर अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम गर्न पाइने छैन ।
प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी आदेशमा ‘यस्ता प्रदर्शन, र्याली, भेलाजम्मा जस्ता गतिविधि गर्नका लागि स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कोही कसैले यस कार्यालयमा जानकारी गराउने वा पूर्व स्वीकृति लिने कार्य नगरेको, निर्वाचन आचार संहिता लागु भईसकेको हालको अवस्थामा यस्ता प्रकृतिका कार्यक्रम गर्न बन्देज रहेको तथा यस प्रकारका कार्यक्रममा निर्वाचन विरोधी भनिएका समूह समेतको घुसपैठ हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै कानून विपरीतका कार्यहरू नगर्न’ सूचित गरिएको छ ।
यस्तै आदेशमा भनिएको छ ‘अन्तर्राष्ट्रिय विमानस्थल जस्तो अत्यन्त संवेदनशील स्थान र आसपासको क्षेत्र समेतको सुरक्षालाई मध्यनजर गर्दै, विमानस्थलसम्म आवतजावत गर्ने यात्रुहरूको सहज आवागमनलाई सुनिश्चित गर्न, विमानस्थल आसपासका क्षेत्र एवम् सार्वजनिक सडक मार्गमा यातायात सञ्चालन तथा आम सर्वसाधारणको निर्वाध आवतजावत गर्न पाउने हक संकुचन हुने गरी कुनै प्रकारको जुलुस, प्रदर्शन, हडताल, (याली, भेलाजम्मा हुने जस्ता कार्यहरू नगर्न, नगराउन, सामाजिक सञ्जालका माध्यमबाट यस प्रकारका कार्यहरूलाई प्रेरित गर्ने वा उक्साउने जस्ता गतिविधि नगर्न, नगराउन जानकारी गराइएको छ।’
निषेधित र संवेदनशील क्षेत्रमा यस प्रकारका कानून विपरीतका कार्यहरूमा संलग्न हुने जो सुकैलाई प्रचलित कानून बमोजिम कारवाही गरिने बताइएको छ ।





प्रतिक्रिया