एडीबीको दक्षिण एसिया विभागको महानिर्देशकमा सोना श्रेष्ठ नियुक्त

एडीबीको दक्षिण एसिया विभागको महानिर्देशकमा सोना श्रेष्ठ नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– एशियाली विकास बैंक (एडीबी)ले आफ्नो दक्षिण एसिया विभागको महानिर्देशकमा नेपाली नागरिक सोना श्रेष्ठलाई नियुक्त गरेको छ ।

मनिलास्थित एडीबी मुख्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै श्रेष्ठलाई दक्षिण एसिया विभागको महानिर्देशक नियुक्त गरेको जानकारी दिएको हो ।

उनले बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल र श्रीलंकामा एडीबीको रणनीति तथा कार्यक्रम सञ्चालनको नेतृत्व गर्नेछिन्।

नियुक्तिपछि श्रेष्ठले दक्षिण एसियाको नेतृत्व सम्हाल्न पाउँदा आफू गौरवान्वित भएको बताउँदै क्षेत्रका सदस्य राष्ट्रहरूसँग नजिकबाट सहकार्य गर्दै समावेशी र दिगो विकासका लागि एडीबीको संलग्नता अझ गहिरो बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।

श्रेष्ठ विकास क्षेत्रमा अनुभवी नेतृत्वकर्ता हुन् । उनीसँग २७ वर्षभन्दा बढी व्यावसायिक अनुभव छ । उनले २३ वर्ष एडीबीमै बिताएकी छन् । यसअघि उनी दक्षिण एसिया विभागकै उपमहानिर्देशक थिइन् ।

साथै, उनले एडीबीको स्वतन्त्र मूल्याङ्कन विभागकी उपमहानिर्देशक, सहायक सचिव, दक्षिण–पूर्वी एसियाका लागि वित्तीय क्षेत्र तथा व्यापार महाशाखाकी निर्देशक, र इन्डोनेसियाकी उप–देश निर्देशकका रूपमा पनि काम गरिसकेकी छन् ।

एडीबीमा प्रारम्भिक कार्यकालमा उनले मध्य तथा पश्चिम एसिया, दक्षिण एसिया र दक्षिण–पूर्वी एसियामा सञ्चालन अनुभव हासिल गरेकी थिइन् ।

नेपाली नागरिक श्रेष्ठले संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर तथा विद्यावारिधि (पीएचडी) गरेकी छन् । उनले म्यासाचुसेट्सस्थित स्मिथ कलेजबाट अर्थशास्त्रमा स्नातक उपाधि प्राप्त गरेकी हुन् ।

सन् १९६६ मा स्थापना भएको एडीबी एशिया तथा प्रशान्त क्षेत्रमा समावेशी, लचिलो र दिगो आर्थिक वृद्धिलाई प्रवद्र्धन गर्ने प्रमुख बहुपक्षीय विकास बैंक हो । एडीबीमा ६९ सदस्य राष्ट्र आबद्ध छन्, जसमा ५० राष्ट्र क्षेत्रीय सदस्य हुन् ।