काठमाण्डु – प्रधानसेनापति अशोकराज सिग्देलसँग नेपाल भ्रमणमा रहेका विभिन्न ४ राष्ट्रका सैनिक प्रतिनिधिमण्डलले बिहीबार शिष्टाचार भेटघाट गरेका छन् ।
महाशिवरात्रि तथा नेपाली सेनाको २६३औँ वार्षिकोत्सवका अवसरमा आयोजना हुने ‘युवा आदानप्रदान कार्यक्रम’मा सहभागी हुन आएका टोली प्रमुखहरूले जङ्गीअड्डा पुगी प्रधानसेनापतिसँग भेट गरेका हुन् ।
राष्ट्रिय सेवा दलद्वारा आयोजित कार्यक्रममा सहभागी हुन भारत, पाकिस्तान, भुटान र मालदिभ्सका उच्च सैन्य तथा प्रशासनिक अधिकारीको नेतृत्वमा टोलीहरू नेपाल आएका छन् । जसमा भारतको एनसीसीका महानिर्देशक लेफ्टिनेन्ट जनरल वीरेन्द्र भत्स, पाकिस्तानको मानव स्रोतका महानिर्देशक मेजर जनरल मोहम्मद साहिद अब्रो, भुटानको विद्यालय शिक्षा विभागका निर्देशक टासी नाम्ग्याल, माल्दिभ्सका लेफ्टिनेन्ट कर्नेल यासिर मोहम्मद रहेका छन् ।

भ्रमणको दौरान टोलीले राष्ट्रपति, प्रधानमन्त्री तथा रक्षामन्त्रीसँग छुट्टाछुट्टै भेटघाट गर्ने कार्यक्रम रहेको छ । आगामी फागुन ३ गते सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने ‘सेना दिवस’को विशेष समारोहको समेत टोलीले अवलोकन गर्नेछ । टोलीले नेपालका विभिन्न ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरूको भ्रमण गर्ने तालिका समेत तय गरिएको छ ।
युवा आदानप्रदान कार्यक्रमले विभिन्न राष्ट्रका छात्रछात्राहरूबिच एकअर्काको कला, भाषा, संस्कृति, अनुभव र ज्ञान साटासाट गर्ने महत्त्वपूर्ण अवसर प्रदान गर्ने विश्वास नेपाली सेनाले लिएको छ ।





प्रतिक्रिया