बंगलादेशमा तारिक रहमान नेतृत्वको बीएनपीलाई स्पष्ट अग्रता

बंगलादेशमा तारिक रहमान नेतृत्वको बीएनपीलाई स्पष्ट अग्रता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बंगलादेशको १३औँ संसदीय निर्वाचनको मतगणना चलिरहँदा तारिक रहमान नेतृत्वको बीएनपीले स्पष्ट अग्रता प्राप्त गरेको छ ।

निर्वाचन आयोगले औपचारिक नतिजा शुक्रबार बेलुकासम्म सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । देशभर झन्डै ६१ प्रतिशत मतदान भएको त्यहाँको निर्वाचन आयोगले जनाएको छ ।

यसपटकको चुनाव सन् २०२४ को विद्यार्थी आन्दोलनपछि पहिलोपटक भएको हो, जसले पूर्वप्रधानमन्त्री शेख हसिनालाई सत्ताबाट हटाएको थियो । उनको दल अवामी लिग यसपटक प्रतिबन्धित भएपछि यो चुनावमा बीएनपी र जमात–ए–इस्लामीबीच प्रतिस्पर्धा भएको हो ।

अनौपचारिक विवरणअनुसार बीएनपीले ३०० सदस्यीय संसदमा आफूलाई बहुमत नजिक पुर्‍याएको भनिए पनि कति सिट प्राप्त गरेको छ भन्ने औपचारिक विवरण आउन बाँकी छ ।

पार्टीका नेताहरूले जितप्रति आशावादी रहेको भन्दै समर्थकहरूलाई उत्सव  र्‍याली नगर्न र संयमित रहन आग्रह गरेका छन् ।

तारिक रहमानले शान्तिपूर्ण वातावरण कायम राख्न विशेष प्रार्थना गर्न निर्देशन दिएका खबरमा उल्लेख छ ।

जमात–ए–इस्लामीका प्रमुखले पनि ठूलो हस्तक्षेप नभए परिणाम स्वीकार गर्ने बताएका छन् । चुनावसँगै जुलाई बडापत्र २०२५’ सम्बन्धी जनमतसंग्रह पनि सम्पन्न भएको छ ।

प्रारम्भिक मतगणनाअनुसार झन्डै ७२ प्रतिशत मतदाता संवैधानिक सुधार प्रस्तावको पक्षमा देखिएका छन् । बडापत्रले प्रधानमन्त्रीका लागि कार्यकाल सीमा, राष्ट्रपतिको अधिकार विस्तार र चुनाव व्यवस्थामा सुधारजस्ता विषय समेटेको छ ।

यस चुनावलाई बंगलादेशमा लोकतान्त्रिक अभ्यास पुनःस्थापित गर्ने महत्त्वपूर्ण क्षणका रूपमा हेरिएको छ । औपचारिक नतिजा सार्वजनिक भएपछि नयाँ सरकार गठन प्रक्रिया अघि बढ्ने छ ।