काठमाण्डु – गृहमन्त्री ओमप्रकाश अर्यालले हिन्दूहरूको महान् पर्व महाशिवरात्रीको पूर्वसन्ध्यामा पशुपति क्षेत्रमा गएर भक्तालुहरूलाई पशुपति दर्शनको लागि गरिएको तयारी र सुरक्षा व्यवस्थाबारे जानकारी लिएका छन् ।
गृह सचिव राजकुमार श्रेष्ठ, सुरक्षा निकायका प्रमुखहरू, मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख, काठमाण्डुका प्रमुख जिल्ला अधिकारी (सीडीओ) तथा मन्त्रालयका उच्च पदस्थ पदाधिकारीसहित पशुपति क्षेत्रमा पुगेका मन्त्री अर्याललाई पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष श्रीधर सापकोटाले कोषले गरेको तयारीबारे जानकारी गराए ।
मन्त्री अर्याल सहितको टोलीलाई महाशिवरात्री लक्षित सुरक्षा व्यवस्था तयारीबारे ब्रिफिङ्गको क्रममा काठमाण्डु प्रहरी प्रमुख रमेश थापाले नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान गरी कुल ६ हजार सुरक्षाकर्मी खटिने गरी तयारी गरिएको र प्रत्येक सिफ्टमा मात्र १ हजार २०० सुरक्षाकर्मी खटिने जानकारी गराए ।
स्थानीय तह, पशुपति क्षेत्र विकास कोष, नेपाल स्काउट तथा सुरक्षा निकायको समन्वयमा हेल्प डेस्कको व्यवस्था गरिएको र भीडमा हुनसक्ने चोरी, पाकेटमार, लागूपदार्थ सेवन तथा सम्भावित दुर्व्यवहार लगायतलाई नियन्त्रण गर्न सादा पोशाकका सुरक्षाकर्मीहरू परिचालन गरिएको काठमाण्डु प्रहरी प्रहरी प्रमुख थापाले जानकारी गराए ।
सुरक्षा व्यवस्थाबारे जानकारी लिएपश्चात मन्त्री अर्यालले दर्शनार्थीलाई सहज दर्शनको व्यवस्था मिलाउन तथा सुरक्षा व्यवस्थामा कुनै कमी हुन नदिन सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिए ।
पशुपति क्षेत्र विकास कोषका अनुसार यस वर्ष महाशिवरात्री पर्वमा अन्दाजी ७ लाख दर्शनार्थीले दर्शन गर्ने अनुमान गरिएको छ । कोषले दर्शनलाई सहज बनाउन बिहान २ बजेबाट पशुपतिका ४ वटै ढोका खुल्ला रहने जनाएको छ ।




प्रतिक्रिया