अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अवैध लागूऔषधसहित प्रहरीले विभिन्न स्थानबाट १५ जनालाई पक्राउ गरेको छ ।

मोरङको विराटनगर महानगरपालिका–१५ तिन नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन करीब ३ ग्रामसहित सुन्दरहरैंचा नगरपालिका–६ बस्ने ३० वर्षीय सरोज चौलागाईलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।

झापाको गौरीगञ्ज गाउँपालिका–२ आँपगाछीबाट अवैध लागूऔषध ब्राउनसुगर ४२ ग्राम ८१० मिलिग्रामसहित कमल गाउँपालिका–५ बस्ने ४० वर्षीय सुर्यबहादुर विक समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरीले आँपगाछीबाट बाहुनटोलतर्फ आउँदै गरेको मे१०प ८४३२ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई लागूपदार्थसहित फेला पारी पक्राउ गरेको छ ।

झापाको बिर्तामोड नगरपालिका–२ कछुबारीबाट अवैध लागूऔषध ब्राउनसुगर ८ ग्राम ४४० मिलिग्राम र नगद ६ हजार रूपैयाँसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका–९ बस्ने ४२ वर्षीय तिलक बुढाथोकी, बिर्तामोड नगरपालिका–२ कछुबारी बस्ने ४२ वर्षीय गोबिन्द बस्नेत, बिर्तामोड नगरपालिका–३ बस्ने ५२ वर्षीय टंक गिरी र बिर्तामोड नगरपालिका–४ बस्ने २८ वर्षीय उदय साह रहेका छन् । इलाका प्रहरी कार्यालय अनारमनी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।

रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१२ आवारोडबाट अवैध लागूऔषध गाँजा करीब १ किलोग्राम र चरेश करीब १०० ग्रामसहित सिद्धार्थनगर नगरपालिका–१२ आवारोड डेरा गरी बस्ने सिद्धार्थनगर नगरपालिका–८ कान्छिबजार घर भएका ४० वर्षीय बिशाल प्रताप राणा समेत ३ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले बिशालको डेरा तलासी गर्दा लागूपदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको छ ।

चितवनको भरतपुर महानगरपालिका–२९ जुगेडीबाट अवैध लागूऔषध खैरो हेरोइन करीब १० ग्रामसहित उदयपुरको कटारी नगरपालिका–१ बस्ने २५ वर्षीय संजीव क्षेत्री समेत ३ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जुगेडीबाट खटिएको प्रहरीले उदयपुरबाट पोखरातर्फ जाँदै गरेको प्रदेश ३–०१–०२२ च ८५४९ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारमा सवार उनीहरूलाई लागूपदार्थसहित फेला पारी पक्राउ गरेको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–१३ बाट अवैध लागूऔषध खैरो हेरोइन ३३ ग्राम ७०० मिलिग्राम, १ थान एयरगन र नगद ६५ हजार रूपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कञ्चनपुरको भीमदत्त नगरपालिका–६ ऐठपुर बस्ने २५ वर्षीय शम्भु भट्ट र बैतडी सिंगास गाउँपालिका–१ घर भएकी २३ वर्षीया कविता भट्ट रहेका छन् । वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।

लागूपदार्थ सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।