काठमाण्डु – नेपाली सेना स्थापनाको २६३औं वार्षिकोत्सवका अवसरमा आईतबार सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहका साथ महाशिवरात्रि तथा सेना दिवस–२०८२ मनाइएको छ ।
कार्यक्रममा विशेष आकर्षणको रूपमा नेपाली सेनासहित मित्रराष्ट्र भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका सैनिक ब्याण्ड टोलीहरूले आफ्नो साङ्गीतिक प्रस्तुति दिएका छन् । अमेरिकी सेनाको साङ्गीतिक ब्याण्ड प्रस्तुतिलाई कतिपयले सामाजिक सञ्जालमा अमेरिकी सेना आएको भनेर भ्रम फैलाइरहेका छन् ।
कार्यक्रममा नेपाली सेनाको हेलिकोप्टरद्वारा राष्ट्रिय झण्डा र सेना दिवसको ब्यानर प्रदर्शन गर्दै पुष्पवृष्टि गरिएको थियो । राइफल र तोपबाट बढाइँ गरिएको समारोहमा विभिन्न सैनिक कला र सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिए ।
समारोहमा प्रमुख अतिथिको रूपमा राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेल सहभागी भएका थिए ।
समारोहको शुभारम्भमा राष्ट्रपति पौडेलले वीर स्मारकमा पुष्पहार अर्पण गरी मुलुकका लागि प्राण उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरे । सोही अवसरमा उनले नेपाली सेनाको वार्षिक प्रकाशन ‘सिपाही–२०८२’को विमोचन गर्नुका साथै ‘फ्री–फल जम्प’ प्रतियोगितामा प्रथम हुने प्रमुख सेनानी विवेक विक्रम शाह र द्वितीय हुने हुद्दा रमेश कुमार चौधरीलाई पुरस्कार प्रदान गरे ।
समारोहमा प्रधानसेनापतिले सुरक्षा तथा सामरिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने गैरसैनिक महानुभावहरूलाई ‘प्रधानसेनापति प्रशंसा निसान’ र कदर पत्रद्वारा सम्मान गरे ।

समारोहमा सम्माननीय उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रिय सभाका अध्यक्ष, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुखहरू, विदेशी राजदूतहरू, पूर्व प्रधानसेनापतिहरू र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो । युवा आदानप्रदान कार्यक्रममा सहभागी विभिन्न देशका क्याडेटहरू, बहालवाला तथा अवकाशप्राप्त सैनिक अधिकारीहरू र सञ्चारकर्मीहरूको पनि उल्लेख्य सहभागिता थियो ।




प्रतिक्रिया