बंगलादेशका प्रधानमन्त्रीको शपथ भोलि, नेपालसहित १३ देशलाई निम्तो

बंगलादेशका प्रधानमन्त्रीको शपथ भोलि, नेपालसहित १३ देशलाई निम्तो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बंगलादेशका नवनिर्वाचित प्रधानमन्त्रीको शपथ मंगलबार हुने भएको छ । सपथ पछि मन्त्रिपरिषद्‌को शपथ सोही दिन अपराह्न हुने छ ।

सांसदहरूको शपथ भएलगत्तै दुईतिहाइ मत ल्याएको बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)को संसदीय दलको नेताको चयन हुनेछ । प्रधानमन्त्रीमा पूर्वप्रधानमन्त्री खालिजा जियाका छोरा तारिक रहमान चयन हुनेछन् ।

शेख हसिनाको दल अवामी लिगलाई चुनाव लड्न नदिएपछि रहमानको दलले एकछत्र जित निकालेको हो । बंगलादेशका मूलधारका दल हसिनाको अवामी लिग र रहमानको बीएनपी हो । बीएनपी धार्मिक मुद्दामा झुकाव राख्छ भने अवामी लिग धर्मीनिरपेक्ष दल हो ।

बंगलादेशमा हुने शपथग्रहण कार्यक्रममा भारतका तर्फबाट लोकसभा अध्यक्ष ओम बिरला र विदेश सचिव विक्रम मिस्रीले प्रतिनिधित्व गर्ने छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदी भने उपस्थित नहुने विदेश मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

अन्तरिम सरकारका मुख्य सल्लाहकार मोहम्मद युनुसले नेपालसहित चीन, साउदी अरेबिया, भारत, पाकिस्तान, टर्की, यूएई, कतार, मलेसिया, ब्रुनेई, श्रीलंका, माल्दिभ्स र भुटानका सरकार प्रमुखलाई सपथ ग्रहण समारोहमा निमन्त्रणा पठाएका छन् ।

बंगलादेशी सञ्चारमाध्यमका अनुसार यसपटक परम्परा तोड्दै शपथग्रहण समारोह ढाकामा रहेको राष्ट्रिय संसद परिसरमा आयोजना हुनेछ ।

३ सय सदस्यीय संसदमा बीएनपी गठबन्धनले स्पष्ट बहुमत ल्याएपछि दक्षिण एशियाली राजनीति तथा भारत–बंगलादेश सम्बन्धमा नयाँ समीकरण बन्ने आंकलन गरिएको छ ।

भारतका प्रधानमन्त्री मोदीले चुनावी परिणाम सार्वजनिक भएपछि तारिक रहमानलाई फोन गरी बधाई दिएका थिए, जसलाई दुई देशबीच सम्बन्ध सुधारको संकेतका रूपमा हेरिएको छ ।