काठमाण्डु– गएको मंगलबार रामेछापको मन्थली नगरपालिका ६ स्थित तामाकोसी नदीमा भएको बस दुर्घटनामा परी बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव फेला परेको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोर टोलीले बस दुर्घटनास्थल तामाकोसी र सुनकोसी नदीका विभिन्न क्षेत्रमा खोजीको क्रममा सोमबार बिहान सुनकोसीको खुर्कोट पुल नजिक शव फेला परेको हो ।
फेला परेको शव मन्थली नगरपालिका २ पिप्लेका ९ वर्षीय क्रिचन तामाङको रहेको प्रहरीले जनाएको छ । काठमाण्डुबाट ओखलढुङ्गाका लागि छुटेको बा.प्र. ००१–०५ ख ९९७५ नम्बरको अरनिको यातायात सेवा प्रालिको बस मन्थली नगरपालिका–६ स्थित त्रिवेणी पुल नजिकैबाट तामाकोसी नदीमा खसेको थियो । दुर्घटनामा १२ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने आठ जना घाइते भएका थिए ।
बसमा सवार तीन जना बेपत्ता भएका थिए। रामेछाप प्रहरीका अनुसार लिखु तामाकोसी गाउँपालिका–७ तिल्पुङका ८ वर्षीय रोनिश तामाङ र उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरका २४ वर्षीय विशाल सुनुवार अझै बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख भोला भट्टले बेपत्ताको खोजी कार्य जारी रहेको जानकारी दिएका छन् ।




प्रतिक्रिया