रवि लामिछाने विरुद्धको संगठित अपराध मुद्दा तत्काल फिर्ता नहुने आदेश

रवि लामिछाने विरुद्धको संगठित अपराध मुद्दा तत्काल फिर्ता नहुने आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नहुने आदेश कास्की जिल्ला अदालतले गरेको छ ।

महान्यायाधिवक्ताको कार्यालयले रवि विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णय गरेकोमा अदालतले मुद्दा फिर्ता नहुने आदेश गरेको हो ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रविविरुद्ध सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा अदालतमा विचाराधीन छ ।

महान्यायाधिवक्ताको कार्यालयको निर्णयपछि कास्की जिल्ला सरकारी वकिल कार्यालयले संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ताका लागि अदालतमा निवेदन दिएको थियो । सोमबार भएको सुनुवाइमा कास्की जिल्ला अदालतले रवि विरुद्धको मुद्दा तत्काल फिर्ता नलिने आदेश गरेको छ ।

जिल्ला न्यायाधीश नितिश राईको इजलासले महान्यायाधिवक्ताको कार्यालयको निर्णयमा सर्वोच्च अदालतमा पनि रिट परेकाले तत्काल मुद्दा फिर्ता नहुने आदेश गरेका छन् ।

सर्वोच्चबाट हुने आदेश जिल्ला अदालतमा पेश भएपछि मात्रै निर्णय हुने आदेश भएको छ । यसअघि रूपन्देही अदालतले पनि रवि विरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा तत्काल फिर्ता नगर्ने आदेश गरेको थियो ।