काठमाण्डु – नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नारी दिवसको अवसरमा नेपालमै पहिलोपटक पृथक विशेषतासहित नेपाल लाइफ नारी सुरक्षा जीवन बीमा योजना सार्वजनिक गरेको छ ।
मंगलबार ‘एकै योजना बहु–लाभ, सबै नारीका लागि सजिलो पहुँच’ नाराका साथ नेपाल लाइफ नारी सुरक्षा जीवन बीमा योजना सार्वजनिक गरिएको हो ।
योजनाको मुख्य विशेषता भनेको बीमालेखको वार्षिकोत्सवमा बीमांकको आधारमा नगद सुविधा प्रदान गरिनु, वृद्धिशील मृत्यु लाभ: मृत्युमा प्रदान गरिने बीमांक रकम हरेक ५ वर्षमा २५ प्रतिशतले बढ्नु रहेको छ ।
नेपाल लाइफ नारी सुरक्षा जीवन बीमा योजना नारीको जीवनमा सुरक्षा, आत्मनिर्भरता र भविष्यको सुनिश्चिततालाई केन्द्रमा राखी तयार गरिएको विशेष जीवन बीमा योजना हो ।
गर्भावस्था जटिलता सम्बन्धी पूरक करार सुविधा अनुसार यदि गर्भावस्थाको समयमा यस पूरक करारभित्र पर्ने ११ वटा गम्भीर गर्भावस्था सम्बन्धी जटिलतामध्ये कुनै पनि जटिलता पुष्टि भएमा एकमुष्ट १ लाख रुपैयाँ तुरुन्तै उपलब्ध हुनेछ । गर्भावस्था स्याहार सम्बन्धी अतिरिक्त पूरक करार सुविधाअन्तर्गत बीमा अवधीभित्र यदि बीमित महिला गर्भवती भएको प्रमाणित भएमा गर्भावस्थासँग सम्बन्धित स्वास्थ्य सेवाको लागि १ पटकका लागि एकमुष्ट १० हजार रुपैयाँ नेपाल लाइफले प्रदान गर्नेछ ।
अग्रिम भुक्तानी सावधिक जीवन बीमा (मुनाफामा सरिक हुने) न्यूनतम बीमांक रकम २ लाख ५० हजार र अधिकतम बीमांक रकम आयस्रोतको आधारमा गर्न सकिनेछ । यस योजनामा बीमितको प्रवेश उमेर १८ वर्षदेखि ६५ वर्ष रहनेछ ।
योजनासँगै विभिन्न ऐच्छिक पूरक करार सुविधा पनि लिन सकिन्छ । जस्तै: एडीबी: दुर्घटना मृत्यु लाभ, पीटीडी: पूर्ण स्थायी अशक्तता सुविधा, पीडब्लूबी: बीमाशुल्क छुट सुविधा पनि योजना रहेका छन् ।




प्रतिक्रिया