भारतको केरल राज्यको नाम परिवर्तन, नयाँ नाम ‘केरलम’

भारतको केरल राज्यको नाम परिवर्तन, नयाँ नाम ‘केरलम’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतले केरल राज्यको नाम परिवर्तन गरेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको केद्रीय मन्त्रिपरिषद्को बैठकले केरलको नाम आधिकारिक रूपमा परिवर्तन गरेर ‘केरलम’ राख्ने प्रस्तावलाई स्वीकृति दिएको छ। यससँगै अब केरल राज्यको नाम केरलम रहनेछ ।

यस ऐतिहासिक निर्णयसँगै अब यो राज्यले आफ्नो भाषा र सांस्कृतिक पहिचानलाई आधिकारिक रूपमा पुनःस्थापित गर्नेछ।

केरल विधानसभाले नाम परिवर्तन गर्नका लागि पहिलो पटक अगस्ट २०२३ मा सर्वसम्मतिले राज्यको नाम ‘केरलम’ राख्न केन्द्र सरकारलाई आग्रह गर्दै प्रस्ताव पारित गरेको थियो। तर, केही प्राविधिक र प्रक्रियागत त्रुटिका कारण केन्द्र सरकारले यसलाई फिर्ता पठाएको थियो।

त्यसपछि २४ जुन २०२४ मा मुख्यमन्त्री पिनाराई विजयनले पुनः विधानसभामा दोस्रो पटक प्रस्ताव ल्याएका थिए, जसलाई सबै दलले समर्थन गरेका थिए।

यस पटक संविधानको पहिलो अनुसूचीमा संशोधन गर्ने गरी स्पष्ट प्रस्ताव केन्द्रमा पठाइएको थियो। सोही प्रस्तावलाई आधार मान्दै केन्द्रीय क्याबिनेटले ‘केरल (नाम परिवर्तन) विधेयक, २०२६’ लाई अगाडि बढाउने निर्णय गरेको हो।

केरल विधानसभाको राय प्राप्त भएपछि, भारत सरकारले प्रक्रिया अघि बढाउनेछ र संसदमा यस विधेयक पेस गर्नका लागि राष्ट्रपतिको सिफारिस लिइने बताइएको छ।

केरलामा मार्च–अप्रिलमा विधानसभा चुनाव हुनेछ। त्यस अगाडि नै नाम परिवर्तनको यस प्रस्तावलाई स्वीकृति मिलेको हो।

मुख्यमन्त्री विजयनका अनुसार मलयालम भाषामा यो राज्यलाई सधैं ‘केरलम’ नै भनिन्थ्यो। तर, अंग्रेजीमा यसलाई केरल लेख्न थालियो जुन औपनिवेशिक प्रभाव मानिन्छ। जसकारण यसको नाम परिवर्तन गर्न आवश्यक रहेको हो ।

अब संविधानको अनुसूचीमा संशोधन भएपछि सबै सरकारी दस्तावेज र भाषाहरूमा यसलाई केरलम नै भनिने मुख्यमन्त्तीको भनाइ छ।