काठमाण्डु– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी विगतको तुलनामा यसपटकको निर्वाचन अभियानमा बढी व्यवस्थित र ऊर्जावान रूपमा अघि बढेको बताएका छन् ।
सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपसभापति शर्माले निर्वाचन अभियानको प्रभाव परिणाममा देखिने दाबी गरे ।उनले पार्टीभित्र देखिएको ऊर्जा, बढेको जागरण र कांग्रेसप्रति बढ्दो जनविश्वासले सकारात्मक संकेत प्राप्त गरेको उल्लेख गरे ।
उनले उम्मेदवारी दर्तापछिका पछिल्ला दिनहरूमा वडा तहदेखि पालिका तह हुँदै केन्द्रीय नेतृत्वसम्म अन्य दलका हजारौँ नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरिसकेको बताए । यसले पार्टीप्रतिको आकर्षण र विश्वास बढेको संकेत गर्ने उनले बताए ।
उनले भने, ‘यो निर्वाचनको अभियानको क्रममा नेपाली कांग्रेस पार्टीले विगतको भन्दा तुलनात्मक रुपले आफूलाई व्यवस्थित ढंगले अगाडि सारेको छ । त्यसको प्रभाव निर्वाचनको परिणामका रुपमा देखिने छ । नेपाली कांग्रेस पार्टीमा देखिएको उर्जा, बढेको जागर, नेपाली कांग्रेसप्रति बढीरहेको विश्वास र उम्मेदवारी दर्तापछिको पछिल्लो दिनहरुमा मात्रै नेपाली कांग्रेस पार्टीमा वडा तहदेखि,पालिका तहदेखि केन्द्रीय नेतृत्वसम्ममा रहेको अन्य पार्टीका साथिहरु हजारौं संख्यामा कांग्रेस प्रवेश गरेका छन् ।’
शर्माले पार्टीको तर्फबाट ७ बुँदे धारणा पनि राखे।
१) आग्रह सबै दललाई छ। चुनावलाई स्वस्थ र भयरहित बनाउनलाई सबैले योगदान गरौँ।
२) सरकार र निर्वाचन आयोगलाई हाम्रो आग्रह छ। व्यवस्थित रूपले निर्वाचन सम्पन्न गराउन पूर्ण निष्पक्षता र उस्तै सजगताका साथ कार्य गर्न।
३) मतदान गर्नका लागि तम्तयार अवस्थामा नेपाली मतदाता हुनुहुन्छ। नेपाली मतदातालाई हाम्रो आग्रह छ– मत दिँदै गर्दा आवेगमा, उत्तेजनामा, झोँकमा होइन। यो दुई दिन मौन अवधि भनेको दलहरू चाहिँ मौन रहने हो तर मतदाताले चाहिँ मन्थन गर्ने बेला हो।
४)मिडियाले हामी सबैलाई प्रश्न गर्छ, खबरदारी पनि गर्छ र यो संवैधानिक अधिकार तपाईँहरूलाई छ। मिडियाले पनि अब मौन अवधिको बेलामा मतदातालाई कुनै पनि प्रकारको भ्रम पर्न नदिन भूमिका खेलोस्।
५) सामाजिक सञ्जालका प्रयोगकर्ताहरूलाई हामीले गर्नु छ। सामाजिक सञ्जालमार्फत अत्यन्तै संयम, अत्यन्तै परिपक्व ढङ्गको बनाउनेभन्दा अलि बढी नै आवेग बनाउने, द्वेष फैलाउने काम नहोस्।
६( नेपाली कांग्रेस पार्टीका अनेक आन्तरिक अप्ठ्याराहरूको बीचबाट विशेष महाधिवेशन भइसकेर अहिले हामी निर्वाचनमा गएका छौँ। यो बेलामा पार्टीको उच्च तहमा रहनुभएका नेताहरू र वडा र टोलसम्म जिम्मेवारीमा रहेर कार्य गरिरहनुभएका सबै आदरणीय साथीहरूलाई यो छैटौँमा चाहिँ पार्टी पङ्क्तिलाई हाम्रो आग्रह छ ।
७) सरकारलाई र सबै राजनीतिक दललाई छ। निर्वाचन पूर्व राष्ट्रिय संवाद गरौँ’ भन्ने हाम्रो चाहना थियो। निर्वाचन पछाडिका कतिपय गर्नुपर्ने राष्ट्रिय विषयहरूमा साझा दृष्टिकोण बनाउन सकिन्छ कि भन्ने प्रयास थियो। हामीले भन्दा पनि भनेका थियौँ कि प्रधानमन्त्रीका उम्मेदवारहरूको सार्वजनिक साझा बहस पनि गर्न चाहन्छौँ।




प्रतिक्रिया