काठमाण्डु – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरेर निर्वाचनको तयारी र समग्र शान्ति सुरक्षा बुझ्न गृहमन्त्री ओमप्रकाश अर्याल सहितको उच्च अधिकारीको टोलीले ललितपुरको विभिन्न दुर्गम क्षेत्रको मतदान स्थलको अनुगमन तथा निरीक्षण गरेको छ ।
उनीसँग गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, प्रवक्ता आनन्द काफ्लेसहित उच्च अधिकारी सहभागी थिए ।
गृहमन्त्रीका निजी सचिव पर्शुराम पोखरेलका अनुसार निर्वाचन तयारी र सुरक्षा अवस्था बुझ्न उच्च अधिकारीको टोलीले आज ललितपुरका बुंमती, गोटिखेल, लेले लगायत मतदान केन्द्रको स्थलगत अनुगमन गर्ने भएको छ । निर्वाचन सुरक्षाको अनुगमन तथा समग्र निर्वाचनको वातावरणलाई ध्यान दिएर सम्बन्धित सुरक्षा निकाय र मतदान केन्द्रहरुको स्थलगत अनुगमन गरी सुरक्षा निकायलाई निर्देशन दिने कार्यक्रम रहेको छ ।
यसअघि आईतबार गृहमन्त्री ओमप्रकाश अर्याल, गृह सचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दान बहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल लगायत उच्च अधिकारीको टोलीले बाँकेको नेपालगञ्ज हुँदै अछाम, बझाङ, बाजुरा र कैलालीको धनगढी पुगेर निर्वाचन तयारी र सुरक्षा व्यवस्थाबारे स्थलगत निरीक्षण तथा अनुगमन गरेको थियो ।
त्यसअवसरमा मन्त्री अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गर्दै मतदाताहरुलाई ढुक्क भएर आफ्नो मताधिकारको प्रयोग गर्न आह्वान गरेका थिए ।
त्यसअघि फागुन १५ गते गृहमन्त्री अर्याल, कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी सहितको उच्चअधिकारी टोलीले दोलखा, ओखलढुंगा, मोरङ, रौतहट र पर्सामा निर्वाचनको तयारी र शान्ति सुरक्षाबारे जिल्ला सुरक्षा समिति, जिल्लास्थित प्रमुख राजनीतिक दल, प्रमुख मतदान अधिकृत तथा अन्य सरोकारवालासँग छलफल र अन्तरक्रिया गरेको थियो ।
सरकारले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न निर्वाचन सुरक्षा तथा मुलुकको समग्र शान्ति सुरक्षालाई मजबुद र प्रभावकारी बनाएको छ ।




प्रतिक्रिया