तथ्यांकमा निर्वाचन-२०८२

तथ्यांकमा निर्वाचन-२०८२

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बिहीबार प्रतिनिधिसभा सदस्यको चुनावको हुँदैछ । बिहीबार बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ ।

अघिल्लो प्रतिनिधि सभा गत भाद्रमा भएको जेन जी आन्दोलन र त्यसपछिको राजनीतिक संकटपछि विघटन भएपछि नयाँ जनादेशका लागि निर्वाचन हुन लागेको हो ।

संविधानअनुसार प्रतिनिधि सभा विघटन भएपछि छ महिना भित्र नयाँ निर्वाचन गर्नुपर्दछ ।

चुनावका लागि योग्य मतदाता सङ्ख्या १ करोड ८९ लाख ३ हजार ६८९ जना छन् । यो सङ्ख्या २०७९ सालमा भएको चुनावमा भएका मतदाताको सङ्ख्याभन्दा ९ लाख १५ हजार ११९ जनाले धेरै हो । यस पटक ९६ लाख ६३ हजार ३५८ जना पुरुष, ९२ लाख ४० हजार १३१ जना महिला र २०० जना अन्य मतदाता रहेका छन् ।

निर्वाचन आयोगका अनुसार प्रत्यक्ष प्रणालीतर्फ ३ हजार ४०६ जना उम्मेदवार रहेकोमा १ जनाको उम्मेदवारी खारेज भएको छ । ती उम्मेदवारमध्ये पुरुष ३ हजार १६ जना, महिला ३८८ जना तथा १ जना अन्य छन् ।

देशभरि १ हजार १४३ स्वतन्त्र उम्मेदवार यस पटक चुनावी प्रतिस्पर्धामा छन् । समानुपातिक निर्वाचन प्रणालीतर्फ कुल ३ हजार १३५ उम्मेदवार अन्तिम सूचीमा कायम भएका छन् । तीमध्ये बन्दसूचीमा १ हजार ७७२ महिला र १ हजार ३६३ पुरुष उम्मेदवार छन् ।

प्रतिनिधिसभा चुनावका लागि समानुपातिकतर्फ ५७ र प्रत्यक्षतर्फ ६६ दल एवम् स्वतन्त्र उम्मेदवार सहभागी छन् । निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेसले मात्र सबै १६५ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको छ । ८ वटा दलले १–१ निर्वाचन क्षेत्रमा मात्र उम्मेदवार उठाएका छन् ।

देशभर कुल १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र तोकिएको निर्वाचन आयोगले जनाएको छ ।
नेपाल प्रहरीले चुनावका लागि ४ हजार ४४२ वटा मतदानस्थललाई संवेदनशील र ३ हजार ६८० वटालाई अतिसंवेदनशील मानेर सुरक्षा प्रबन्ध मिलाइएको छ ।

निर्वाचन सुरक्षाका लागि ७९ हजार ६२७ नेपाली सेना परिचालित भएका छन् । यस्तै, नेपाल प्रहरीका ७५ हजार ७८७ र शसस्त्र प्रहरी का३४ हजार ५६७ निर्वाचन सुरक्षामा खटिएका छन् ।

राष्ट्रिय अनुसन्धानका १ हजार ९२१ अधिकृत र १ लाख ४९ हजार ९० निर्वाचन प्रहरी पनि सुरक्षामा परिचालन गरिएको हो ।
निर्वाचनलाई व्यवस्थित बनाउन देशभर २ लाख १५ हजार कर्मचारी पनि खटिएका छन् ।