चुनावमा उत्साहजनक सहभागिताका लागि निर्वाचन आयोगको अपिल

चुनावमा उत्साहजनक सहभागिताका लागि निर्वाचन आयोगको अपिल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भोलि बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्साहजनक सहभागिताका लागि निर्वाचन आयोगले अपिल गरेको छ ।

बुधबार विज्ञप्ति जारी गर्दै आयोगले निर्वाचनका लागि देशभरका सबै मतदान केन्द्रहरूमा मतपत्र, मतपेटिका लगायतका निर्वाचन सामग्री पुर्‍याइसकिएको जनाएको छ ।

मतदान केन्द्रको निर्माण, लैङ्गिक तथा अपाङ्गमैत्री व्यवस्थापन र कर्मचारी परिचालनका सम्पूर्ण कार्यहरू सम्पन्न भएका छन् ।

मतदाताले विना कुनै अवरोध आफूलाई मन परेको उम्मेदवार र राजनीतिक दललाई मतदान गर्न पाउने गरी शान्ति सुरक्षाको भरपर्दो व्यवस्था मिलाइएको आयोगले स्पष्ट पारेको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन आयोग पूर्णरूपमा क्रियाशील रहेको विज्ञप्तिमा उल्लेख छ ।

आयोगले निर्वाचनको तयारी प्रक्रियाका सिलसिलामा केही दु:खद घटनाहरू समेत भएका जनाएको छ । रामेछापमा निर्वाचन सामग्री लिएर जाँदै गर्दा भएको सवारी दुर्घटनामा सुरक्षाकर्मी र मतदान अधिकृतको निधन भएको छ । कार्यक्षेत्रमै खटिएको अवस्थामा सर्लाही र मुस्ताङमा मतदान अधिकृत तथा कञ्चनपुरमा १ जना प्रहरीको निधन भएको आयोगले जनाएको छ ।

कर्तव्य पालनाका क्रममा ज्यान गुमाउने कर्मचारी र सुरक्षाकर्मीप्रति आयोगले हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

निर्वाचन आयोगले मतदानलाई केवल प्रतिनिधि चुन्ने प्रक्रिया मात्र नभई लोकतन्त्रको वैधता नवीकरण गर्ने महत्त्वपूर्ण संवैधानिक अभ्यासका रूपमा व्याख्या गरेको छ । ‘आफ्नो मताधिकार प्रयोग गर्नु संवैधानिक अधिकार मात्र नभई लोकतन्त्रप्रतिको नागरिक जिम्मेवारी पनि हो,’ प्रवक्ता भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

समावेशी र उत्तरदायी राज्य निर्माणमा प्रत्यक्ष योगदान पुर्‍याउने ऐतिहासिक लोकतान्त्रिक अभ्यासमा सक्रियतापूर्वक सहभागी हुन आयोगले सम्पूर्ण मतदातामा हार्दिक अपिल गरेको छ ।