काठमाण्डु – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशभर मतदान जारी छ । बिहान ७ बजेबाट सुरु भएको मतदानमा विभिन्न दलका उम्मेदवार तथा नेताहरूले उत्साहका साथ मतदान गरेका छन् ।
उज्यालो नेपाल पार्टीका सभापति कुलमान घिसिङले काठमाण्डु- ३ स्थित जनकल्याण माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका छन् ।
नेपाली कांग्रेसका सभापति गगन थापाले मतदान गरेका छन् । बिहीबार बिहान काठमाडौं क्षेत्र नं ४ मैतीदेवी मतदान केन्द्रमा पुगेर सभापति थापाले मतदान गरेका हुन् । कांग्रेसका थापाले सर्लाही–४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार हुन् ।
राप्रपा नेता तथा काठमाण्डु-५ का उम्मेदवार कमल थापाले काठमाडौँ महानगरपालिका वडा नं ४ विशाल मिलन केन्द्रमा मतदान गरेका छन् ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुर मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् ।
त्यस्तै नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले झापाको क्षेत्र नम्बर १ मेचिनगर ९ स्थित कविशिरोमणी माविको मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् ।
गतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले रुकुमपश्चिम पुगेर मतदान गरेका छन् ।
पूर्वअर्थमन्त्री जनार्दन शर्माले रुकुमपश्चिमको मुसिकोट नगरपालिका–५, सेरीगाउँस्थित यमुना नन्द नमूना माध्यमिक विद्यालय मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।
एमालेका महासचिव शंकर पोखरेलले दाङको तुलसीपुर उपमहानगरापलिका–१८, विजौरीस्थित जनता संस्कृत मावि मतदान केन्द्रमा पुगेर मतदान गरेका छन्।
एमालेका नेता ईश्वर पोखरेलले काठमाण्डुको टोखा नगरपालिका–६, को वडा कार्यालयमा रहेको मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ट नेता बालेन्द्र शाहले पनि मतदान गरेका छन् । काठमाडौँको चुच्चेपाटीस्थित उपत्यका खानेपानी लिमिटेडको महाँकाल मतदान केन्द्रमा पुगेर रविले बिहान सुरुमै मतदान गरेका हुन् । भने शाहले सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कुलमा पुगेर मतदान गरेका हुन् ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले अनामनगर पुगेर मतदान गरेका छन् ।
यस्तै निर्वाचन आयुक्त डा.जानकी कुमारी तुलाधरले लमजुङको सुन्दर बजारस्थित महेन्द्र मावि मतदान केन्द्रबाट मतदान गरिन्। अर्का निर्वाचन आयुक्त सगुन शमशेर जबराले भने धापासी निम्न माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा पुगेर आफ्नो मत खसाले।
यसैगरी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बूढानीलकण्ठ नगरपालिका–२ भङ्गालस्थित साविकको गाविस भवन मतदान केन्द्रबाट मतदान गरेकी छन्।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका अछाम क्षेत्र नं। २ का उम्मेदवार भूपदेव शाहले अछामको मंगलसेन नगरपालिका ४ स्थित राधा माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्र गई मतदान गरेका छन् ।
नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गरेका छन् ।
यता राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मतदान गरेका छन् । उनले झापाको हल्दिवारी गाउँपालिका– १ वडा कार्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा काठमाण्डु –६ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार शिशिर खनालले टोखा–१० मनोहर माबिबाट मतदान गरेका हुन् ।
नेकपाकी उम्मेदवार रेनु दाहालले मतदान गरेकी छिन् । चितवन क्षेत्र नम्बर ३ उम्मेदवार दाहालले बिहीबार भरतपुर १४ को आधारभूत विद्यालय सुन्दरवस्तीबाट मतदान गरेकी हुन् ।






















प्रतिक्रिया