नयाँदिल्ली – भारतले नेपालमा उत्साहजनक सहभागिताका साथ सम्पन्न भएको निर्वाचन र नेपाली नागरिकहरूले आफ्नो लोकतान्त्रिक मताधिकारको प्रयोग गरेको कार्यलाई स्वागत गरेको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नेपालमा आज सफलतापूर्वक निर्वाचन सम्पन्न भएकोमा हामी सम्माननीय प्रधानमन्त्री सुशीला कार्की, नेपाल सरकार, नेपाली जनता र अन्य सरोकारवालाहरूलाई बधाई ज्ञापन गर्दछौँ । गत वर्षको विशिष्ट परिस्थितिका बीच पनि यी चुनावहरू सफलतापूर्वक सम्पन्न हुनु महत्त्वपूर्ण छ ।’
प्रवक्ता जैसवालले भारतले नेपालको शान्ति, प्रगति र स्थिरताका लागि सधैँ समर्थन गर्दै आएको स्मरण गराए । सोही प्रतिबद्धता स्वरूप नेपाल सरकारको अनुरोधमा भारतले यस निर्वाचनका लागि आवश्यक रणनीतिक तथा भौतिक सामग्री समेत उपलब्ध गराएको उनले बताए ।
भारतले नेपालमा गठन हुने नयाँ सरकारसँग मिलेर काम गर्न उत्सुक रहेको जनाएको छ । २ देश र जनताबिचको मजबुत र बहुआयामिक सम्बन्धलाई आपसी हितका लागि थप सुदृढ बनाउँदै लैजाने विश्वास समेत भारतले व्यक्त गरेको छ ।




प्रतिक्रिया