सिराहा-२ र ३ मा रास्वपा विजयी

सिराहा-२ र ३ मा रास्वपा विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सिराहा–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिव यादव अत्यधिक मतान्तरका साथ निर्वाचित भएका छन् ।

अन्तिम मत परिणाम अनुसार यादवले ३९ हजार ५६१ मत प्राप्त गर्दै शानदार जित हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामचन्द्र यादवले १२ हजार ८१४ मत प्राप्त गरेका छन् ।

दुवै उम्मेदवारबीच २६ हजार ७४७ मतान्तर रहेको छ । जसले यस निर्वाचन क्षेत्रमा रास्वपाको बलियो जनसमर्थन देखाएको छ ।

ठुलो मतान्तरसहित प्राप्त भएको यो जितलाई स्थानीय स्तरमा ऐतिहासिक विजयको रूपमा समेत हेरिएको छ ।

यस जितसँगै सिरहा–२ मा रास्वपाले आफ्नो प्रभाव मजबुत बनाएको छ भने समर्थक तथा कार्यकर्ताले खुसीयाली मनाउन थालेका छन् ।

यता, सिराहा–३ मा पनि रास्वपाकै उम्मेदवार शम्भु कुमार यादव भारी मतान्तरका साथ विजयी भएका छन् ।

यादवले ३२ हजार २४९ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिद्वन्द्वी एमालेका लिलानाथ श्रेष्ठलाई २२ हजार ९३ मतान्तरले पराजित गरेका हुन् । श्रेष्ठले १० हजार १५६ मत प्राप्त गरेका छन् ।

यसैगरी नेकपाका विश्वनाथ साहले ९ हजार ९४२ मत, नेपाली कांग्रेसका सुभाष चन्द्र यादवले ९ हजार ८७९ मत, जनता समाजवादी पार्टी नेपालका असेश्वर यादवले ५ हजार ६७१ मत प्राप्त गरेका छन् ।