काठमाण्डु – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खोटाङका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर बुधबार बिहान अवतरणका क्रममा दुर्घटनामा परेकोबारे थप अनुसन्धान हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
खोटाङको बालवेशीमा अवतरण गर्ने क्रममा ६ जना सवार हेलिकप्टर असन्तुलित भई जमिनमा पल्टिएको प्राधिकरणले जनाएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार ९एन–एएफक्यू कलसाइन भएको हेलिकप्टर बुधबार बिहान ११:०९ बजे काठमाण्डुबाट खोटाङको बालवेशी (खानीडाँडाबाट १७ किलोमिटर उत्तरपूर्व) का लागि उडेको थियो ।
हेलिकप्टरमा १ जना पाइलट र ५ जना यात्रु गरी ६ जना सवार थिए । विमानस्थल कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार हेलिकप्टर पल्टिँदा १ जना यात्रु घाइते भएका छन् ।
घाइते यात्रु र पाइलटलाई अर्को हेलिकप्टरमार्फत उद्धार गरी दिउँसो १२:४२ बजे काठमाण्डु ल्याइएको छ । उनीहरूको अहिले काठमाण्डुको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ ।
अन्य ४ जना यात्रुको अवस्था भने सामान्य रहेको बुझिएको छ । अवतरणका क्रममा हेलिकप्टर किन असन्तुलित भयो भन्नेबारे थप अनुसन्धान हुने प्राधिकरणले जनाएको छ ।





प्रतिक्रिया