काठमाण्डु – नेपाली कथानक चलचित्र ‘मालती मंगले’को टाइटल गीत ‘सुनैको सपनी’ सार्वजनिक गरिएको छ ।
बुधबार विशेष कार्यक्रमबिच ओएसआर डिजिटलमार्फत निर्माण टीमले गीत सार्वजनिक गरेको हो ।
गीत सार्वजनिक कार्यक्रममा बोल्दै गायिका रचना रिमालले वरिष्ठ गायक रामकृष्ण ढकालसँग सहकार्य गर्ने आफ्नो इच्छा पूरा भएको बताइन् । उनले फिल्मी गीतप्रति आफ्नो रुचि बढ्दै गएको उल्लेख गर्दै यस अवसरप्रति खुशी व्यक्त गरिन् । उनले भनिन्, ‘गीत गाउन रामकृष्ण ढकाल दादासँग एकदमै रहर थियो, त्यो पूरा भएको छ । यो गीतमा जोडिनु हुने सम्पूर्णलाई एकदमै सम्झिन चाहन्छु । मलाई फिल्मको गीतहरू अचेल आइरहेको छ । पहिला–पहिला कस्तो होला फिल्मको गीतहरू भन्ने लाग्थ्यो । मैले जे चाहेको थिए, त्यो पूरा भएको छ ।’
गायक रामकृष्ण ढकालले ‘सुनैको सपनी’ गीतले दर्शकको मन छुने विश्वास व्यक्त गरे । उनले चलचित्रले ग्रामीण परिवेशमा आधारित चोखो प्रेमकथा प्रस्तुत गर्ने र सन्देशसमेत दिने बताए । उनले भने, ‘यो गीतले दर्शकको मन छुने कुरामा म विश्वस्त छु । ग्रामीण परिवेशमा गर्ने एउटा चोखो मायाको कथा हो यस फिल्ममा । यो चलचित्रले सन्देश पनि दिएको छ ।’
अभिनेत्री वर्षा राउतले गीतका शब्द र दृश्य संयोजनको प्रशंसा गर्दै यसले दर्शकलाई आनन्द दिने प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘यो गीत हेर्दा आँखालाई पनि सित्तल भएजस्तो फिल भएको छ । आनन्द आइरहेको छ । गीतमा शब्दहरू एकदमै राम्रो छ । मिठो शब्दहरू मिलाएर मिठो गीत बनेको छ ।’
गीतमा वर्षा राउत र विजय बराल फिचर्ड रहेका छन् भने स्वर रामकृष्ण ढकाल र रचना रिमालको रहेको छ । गीतका शब्द आनन्द अधिकारीले लेखेका हुन् भने संगीत उज्ज्वल सागरले दिएका छन् । चलचित्रका कार्यकारी निर्माता सागर ज्ञवाली रहेका छन् भने कथा तथा निर्देशन प्रकु पाण्डेयले गरेका हुन् । सहनिर्मातामा बाबु सुवेदी, रबिन श्रेष्ठ, बेदना कर्मचार्य, पद्मावती गुरुङ र स्वीकृति बस्नेत रहेका छन् ।
‘मालती मंगले’ आगामी वैशाख २५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको छ । चलचित्रमा विजय बराल, वर्षा राउत र मेक्सम गौडेल मुख्य भूमिकामा देखिएका छन् । प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पङ्गेनी, सुस्मिता गुरुङ र सागर भट्टराई लगायतका कलाकारहरूको अभिनय रहेको छ ।




प्रतिक्रिया