जुम्लाका ८ स्थानीय तहका किशोरीलाई एचपीभी खोप लगाइने

जुम्लाका ८ स्थानीय तहका किशोरीलाई एचपीभी खोप लगाइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुगु – जुम्ला जिल्लामा १०–१४ वर्ष उमेर समूहका १ हजार २७७ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप लगाइने भएको छ ।

चैत ९ र १० गते २ दिनसम्म सञ्चालन हुने अभियानका लागि अन्तिम तयारी पूरा भएको जनाइएको छ । सामुदायिक तथा निजी विद्यालयमा ६ कक्षामा अध्ययनरत १ हजार १६५ जना छात्रालाई खोप लगाइनेछ भने विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका ११२ जना किशोरीलाई पनि खोप दिइनेछ ।

राष्ट्रिय खोप अभियानअन्तर्गत यसअघि छुटेका किशोरीहरूलाई समेट्ने उद्देश्यले पुन: खोप कार्यक्रम सञ्चालन गर्न लागिएको हो । जिल्लाका ८ स्थानीय तहका ८४ वटा विद्यालयमा खोप केन्द्र स्थापना गरिएको छ ।

गाउँपालिकागत विवरणअनुसार चन्दननाथमा २७७, तातोपानीमा १६४, गुठीचौरमा ७७, पातारासीमा २२१, तिलामा १८५, हिमामा २२१, सिजामा १३५ र कनकासुन्दरीमा १७७ जना किशोरीलाई खोप लगाइनेछ ।

यसका लागि जिल्लास्तरमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख किरण शर्माले जानकारी दिए । उनले भने, ‘गत वर्ष ७ देखि १० कक्षासम्मका किशोरीलाई खोप दिइएको थियो भने यस वर्ष ६ कक्षामा अध्ययनरत किशोरीलाई मात्र खोप दिइनेछ ।’

एचपीभी खोप अभियान नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको उनले बताए । बाल मृत्युदर घटाउन र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न खोप महत्वपूर्ण मानिन्छ । अभियानबाट कोही पनि नछुट्ने र नदोहोरिने गरी प्रभावकारी रूपमा सञ्चालन गरिने तयारी गरिएको छ ।

नेपालमा विक्रम संवत् २०३४ सालदेखि नियमित खोप कार्यक्रम सञ्चालन हुँदै आएको छ ।