काठमाण्डु – नेकपा एमालेका पूर्व उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीलाई परम्परागत राजनीतिक शक्तिबाट रूपान्तरण गरी देशका जटिल समस्या समाधान गर्ने विज्ञता र प्रविधि सहितको गतिशील संस्था बनाउनुपर्ने प्रस्ताव अघि सारेका छन् ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै नेता पाण्डेले एमाले अब इतिहासको ब्याज खाएर मात्र बस्न नहुने र भविष्यको लगानीमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।
पार्टीलाई अझ आधुनिक र शक्तिशाली बनाएर लैजान उनले तत्काल काम गर्नुपर्ने खाका प्रस्तुत गरेका छन् । उनका अनुसार अब पार्टीले केवल राजनीतिक भाषणमा मात्र अल्झिनु हुँदैन । देशको वर्तमान आर्थिक संकट समाधानका लागि विषयविज्ञ र अर्थशास्त्रीहरूसँगको सहकार्यमा ठोस प्राविधिक रोडम्याप तयार गर्नुपर्ने उनको तर्क छ । राजनीतिलाई तथ्यांक र समाधानमुखी बनाउनुपर्नेमा उनले जोड दिए ।
पार्टीभित्र व्यक्तिगत पहुँच र चाकडीका आधारमा जिम्मेवारी दिने प्रथा अन्त्य गर्नुपर्ने पाण्डेको माग छ । यसका लागि आधुनिक प्रविधि र पारदर्शी मूल्यांकन ढाँचा लागू गरी हरेक कार्यकर्ताको क्षमता र योगदानको निष्पक्ष मापन हुनुपर्ने उनले बताए ।
नयाँ पुस्तालाई नेतृत्वमा ल्याउन र अनुभवी नेताहरूको ज्ञानलाई सही सदुपयोग गर्न उनले ‘को–लिडरशिप र ‘मेन्टरसिप’को वैज्ञानिक मोडल प्रस्ताव गरे । यसले पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जाबीच तालमेल मिलाउने उनको विश्वास छ ।




प्रतिक्रिया