काठमाण्डु – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन आयोगले हालै सम्पन्न गरेको निर्वाचनलाई अहिलेसम्मकै उत्कृष्ट निर्वाचनको रूपमा मूल्यांकन गरिएको बताएका छन् ।
आईतबार निर्वाचन आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारी, २ जना आयुक्तहरू, सचिव सहितको टोलीले प्रधानमन्त्री सुशीला कार्कीलाई निर्वाचन सम्पन्न भएको प्रतिवेदन बुझाएको उनले जानकारी दिए ।
मन्त्री अर्यालका अनुसार उक्त अवसरमा निर्वाचन आयोगले निर्वाचनलाई सुशासनका हिसाबले अहिलेसम्मकै सबैभन्दा राम्रो निर्वाचन भएको दाबी गरेको छ ।
उनले भने, ‘निर्वाचन आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारीज्यू, २ जना माननीय आयुक्तज्यूहरू, सचिवज्यू र समग्र टोली यहाँ आउनुभयो र निर्वाचन सम्पन्न भएको प्रतिवेदन सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यूलाई बुझाउनुभयो । यो निर्वाचन पहिलाका निर्वाचनभन्दा धेरै राम्रो भयो भन्ने मूल्यांकन गरिएको छ ।’
उनका अनुसार प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगको टोलीप्रति आभार व्यक्त गर्दै यस निर्वाचनलाई इतिहासमा सुनौलो अक्षरले लेखिने उल्लेख गरेकी छन् ।
‘निर्वाचन सुशासनका हिसाबले अहिलेसम्मकै सबैभन्दा राम्रो निर्वाचन भएको हामीले महसूस गर्यौं र प्रधानमन्त्रीज्यूले र प्रमुख आयुक्त, माननीय आयुक्तज्यूहरू लगायत निर्वाचन आयोगका समग्र टीमलाई धेरै आभार प्रकट गर्नुभएको छ । यो इतिहासमा सुनौलो अक्षरले नाम लेखिनेछ । उहाँले गरेको कामलाई इतिहासले उच्च मूल्यांकन गर्नेछ भन्ने सन्देश दिनुभएको छ,’ उनले भने ।




प्रतिक्रिया