काठमाण्डु– बाजुराबाट हेलिकप्टरमार्फत उद्वार गरिएकी एक महिलाको मृत्यु भएको छ । यहीँ चैत्र ४ गते बाजुराबाट थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत रिफर गरिएकी बाजुराको बडीमालिका नगरपालिका वडा नम्बर १ की २१ बर्षीया सुरता रोकाया र उनको नवजात शिशुको मृत्यु भएको हो ।
एक हप्ताको नवजात शिशु र सुत्केरी आमाको मृत्यु खवरको स्तब्ध बनाएको हो । उनको र नवजात शिशुको उपचारको क्रममा शनिवार सुर्खेतमा मृत्यु भएको बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले जानकारी दिए । बाँच्ने आशामा हेलिकप्टरमार्फत उद्धार गरिएकी सुरता र उनको नवजात शिशुको अन्ततः ज्यान गएको हो ।
सुरता लामो समयदेखि मुटु रोगबाट समेत ग्रसित थिइन् । डाक्टरले बच्चा जन्माउन नहुने सुझाव समेत दिएको थिए । उनले जिल्ला अस्पताल बाजुरामा शिशुलाई जन्म दिएकी थिइन् । पछि स्वास्थ्यमा जटिल समस्या हुँदै गएपछि थप उपचारका लागि सुविधायुक्त अस्पतालमा लगिएकोमा उपचारको क्रममा ज्यान गएको हो ।
बाजुरामा उपचार गर्न समस्या भएपछि थप उपचारको लागि तत्काल उद्धार गर्न हेलिकप्टर मगाएर बाहिर जिल्ला पठाइएको थियो ।
चिकित्सकहरूले अथक प्रयासका बाबजुद पनि आमा र नवजात शिशु दुवैलाई बचाउन सकेनन् । घटनाले बाजुरा जस्तो दुर्गम तथा पिछडिएको क्षेत्रमा अझै गम्भीर स्वास्थ्य समस्या, सचेतनाको कमी लगायतका समस्याहरु यथावत् रहेको देखाएको हो।
आवश्यक परामर्श र नियमित उपचारको पहुँच नहुँदा यस्ता दुःखद घटनाहरु दोहोरिने क्रम भने रोकिएको छैन ।




प्रतिक्रिया