काठमाण्डु – ग्लोबल आईएमई बैंक लिमिटेडद्वारा पौभा कलाको दिव्य रङ्ग र दर्शन सहितको तस्वीरहरू समावेश नयाँ वर्ष २०८३ सालको क्यालेन्डर सार्वजनिक गरेको छ ।
बैंकको कर्पोरेट कार्यालय कमलादीमा आयोजित समारोहमा बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक प्रा.डा. सन्दुक रुइतले संयुक्तरूपमा २०८३ सालको क्यालेन्डर सार्वजनिक गरे ।
पौभा कला नेवार जातिको मौलिक चित्रकला हो । क्यालेण्डरमा विशेषगरी काठमाण्डु उपत्यकामा बस्ने नेवा: समुदायसँग गहिरो सम्बन्ध रही आएको पौभा कलाको दुर्लभ चित्रहरू समावेश गरिएको छ ।
थान्कासँग मिल्दोजुल्दो देखिए पनि पौभाको आफ्नै विशिष्ट पहिचान र दार्शनिक गहिराइ रहेको छ । बैंकले विगत केही वर्षदेखि नेपाली कला, साहित्य, संस्कृति र सभ्यताको संरक्षण तथा प्रवर्द्धनका आफ्नो क्यालेण्डरमा मौलिक चित्रहरू समावेश गर्ने गरेको छ ।
बैंकले २०७९ सालमा नेपालको मौलिक मिथिला संस्कृति झल्किने चित्र, २०८० मा मण्डला चित्रकला, २०८१ मा विभिन्न समयमा स्वदेश फर्काइएका प्राचित कलाकृति र २०८२ मा पुराना नेपाली जीवनशैली झल्काउने दुर्लभ तस्वीर समावेश गरी क्यालेण्डर प्रकाशन गरेको थियो ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङ्गसहित बैंकका उच्च व्यवस्थापनका कर्मचारीहरूको उपस्थिति थियो ।
ग्लोबल आईएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट फरक–फरक विधामा सम्मानित भएको छ । बैंकले बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरु प्राप्त गरिसकेको छ ।
ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५२ शाखा कार्यालय, ३७९ एटीएम, १४७ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजारभन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।




प्रतिक्रिया